सिंचाईले वर्षमा तीन बाली

हेमन्त केसी
जाजरकोट ,  सिंचाई सुविधा नहुँदा वर्षमा एक बाली मात्र लगाउने भेरी नगरपालिका –१ पिपेका स्थानीयवासीहरु अहिले तीन बाली लगाउन थालेका छन् ।

गाउँमा सिंचाई सुविधा पुगेपछि अहिले वर्षमा तीन बाली लगाउन थालेको स्थानीयवासी रत्न रानाले जानकारी दिनुभयो । आकाशे पानीको भरमा खेती गदै आएका कृषकहरु अहिले सिंचाई सुबिधा सँगै वेमौसमी तरकारीबाली लगाएर आम्दानीको गतिलो माध्यम समेत बनाएका छन् ।

तीन वर्ष अघि बाँझा रहेका खेतबारीमा अहिले वेमौसमी तरकारी बाली, हराभरा गहँु उत्पादन भईरहेको वडा अध्यक्ष दिपक रानाले जानकारी दिनुभयो । अहिले यहाँका स्थानीयवासीहरु बाहिर अन्न निर्यात गर्ने हैसियातमा पुगेको उहाँको भनाई छ ।

कृषि पेशालाई प्रधान बनाएर यहाँका स्थानीयवासीहरु आर्थिक रुपमा आत्मनिर्भर समेत भएको अध्यक्ष रानाको भनाई छ । द्धन्द्धकालमा सवै भन्दा बढी क्षति व्यहोरेको पिपेमा अहिले कृषि क्रान्तिले सवैलाई उछिनेको छ । पिपे गाउँको उव्जाउ भुमिलाई संरक्षण तथा जोगाउनका लागि भेरी नगरपालिकाले भेरी नदीमा तटवन्ध लगाएको छ ।

पिपेखोलाबाट लिएको पानीले पिपेगाउँको सिंचाई ,गर्दा स्थानीयवासीले राम्रो उत्पादन गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । धान , मकै , गहुँ र अन्य वेमौसमी तरकारी बाली मनग्य उत्पादन हुँने कृषक भेजि रानाले जानकारी दिनुभयो ।

कृषि पेशासँगै अहिले माछा पालन व्यवसाय समेत फस्टाएको छ । गाउँमा विद्युतिकरण भएसँगै सवै घर झिलिमिली भएका छन् । यही वडामा जनयूद्धको समयमा ३२ जनाले ज्यान गुमाएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ढकबीर रानाले बताउनुभयो । अधिकांश मगर समुदाय वसोवास गर्ने पिपे जाजरकोट – डोल्पा सडकले छोएको छ ।

भेरी नदीको किनारमा गाउँ भएकाले माछा मारेर विक्री गरी आम्दानी गर्ने अर्को माध्यम रहेको छ । सालका बाग्लो जंगल भएकाले घास , स्याउलाका लागि स्थानीयवासीहरु बाहिर जानु नपर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो ।

प्राङ्गारिक मल प्रयोगले उत्पादनका लागि सघाउ पुगेको छ । सदरमुकाम देखि नजिकै रहेको र वडा अध्यक्षको गाउँ भएकोले कृषि प्राविधिकहरुले स्थानीयवासीको माग अनुसार ध्यान दिने गरेका छन् ।

तरकारीको लागि पकट क्षेत्र

भेरी नगरपालिकाले पिपेलाई तरकारीको लागि पकट क्षेत्रको रुपमा घोषणा गरेको छ । प्रत्येक बाली र तरकारीको छुट्टा छुटै पकट क्षेत्र बनाएको नगरले पिपेलाई तरकारीको पकट क्षेत्रको रुपमा विकास गर्न विशेष पकट क्षेत्र घोषणा गरेको हो ।
सदरमुकाम खलंगा , रिम्ना , लगायतका अधिकांश गाउँमा पिपेको तरकारी पुग्ने गर्दछ । यातायातको पहुँच भएकाले यहाँ उत्पादीत तरकारीबाली सजिलै सवै ठाउँ , ठाउँमा लिन सजिलो भएको छ ।





error: Content is protected !!