कर्णालीमा एक हजार शैयाको क्वारेन्टाइन बनाइने

सुर्खेत, कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ।

शुक्रबार बसेको कर्णाली प्रदेशस्तरीय विपद् व्यवस्थापन परिषद र विपद व्यवस्थापन कार्यान्वयन समितिको बैठकले क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बैठकले कोरोनाभाइरस संक्रमणको लक्षण देखिएमा मानिसलाई राख्नका लागि पूर्वा तयारीस्वरूप क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो।

तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रांगणमा ६०० बेड र रेडियो नेपालको प्रांगणमा ४०० बेड राखेर क्वारेन्टाइन स्थापना गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

मन्त्री केसीका अनुसार अबको ढिलोमा एक साताभित्र क्वारेन्टाइन स्थापना भइसक्ने छ। जतिसक्दो एक साताभन्दा छिट्टै काम सक्नेगरी शनिबारबाटै क्वारेन्टाइन स्थापनाका लागि काम सुरू भइसकेको मन्त्री केसीले बताइन्।

‘अबको ३र४ दिनभित्र क्वारेन्टाइन स्थापना भइसक्छ, ढिलोमा एक साता लाग्छ,’ मन्त्री केसीले भनिन्, ‘पूर्वसतर्कताका लागि क्वारेन्टाइन स्थापनासँगै अरु पनि धेरै काम गरिरहेका छौं।’

मन्त्री केसीका अनुसार क्वारेन्टाइनका लागि आवश्यक एक हजार टेण्टमध्ये ४०० टेण्ट नेपाली सेनाले नै राख्नेछ।

विदेशीलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा

यस्तै, कर्णालीमा प्रवेश गर्ने हवाई तथा स्थल मार्गका नाकाहरूमा लक गर्ने, लक गरिएका नाकाबाट विदेशी नागरिकलाई प्रदेश गर्न नदिने निर्णय पनि गरिएको छ।

सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिले भने विदेशी नागरिकलाई आउन दिइने छ। यसरी नेपाल छिर्ने विदेशीलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा राखिने मन्त्री केसीले बताइन्।

यस्तै, सीमा जोडिएका नाकाहरूमा सेनिटाइजर, मास्क, थर्मोमिटर गन लगायतका सामग्रीहरूको सहज रूपमा व्यवस्थापन गर्ने, सामुदायिक संघ संस्थालगायतका सबै पक्षको संयुक्त संलग्नतामा स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशालाको क्षमता विस्तार गर्ने, संक्रमित व्यक्ति देखिएमा प्राथमिक उपचारको तत्काल प्रबन्ध गर्ने, अस्पतालहरूको प्रक्षेपण, आइसोलेसन वार्डहरूको तयारी र क्वारेन्टाइन स्थलहरूको तत्काल चयन गर्ने व्यवस्था पनि गरिएको छ।

५० करोडको कोष

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण्को जोखिमबाट बच्न ५० करोड रुपैयाँका तत्कालीन विपद व्यवस्थापन कोष स्थापना गरेको छ।

कोरोना भाइरससँग सम्बन्धित विषयमा खर्च गर्नुपरेमा सोही कोषबाट खर्च गर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको छ।

शुक्रबार बसेको विपद व्यवस्थापन परिषदको बैठक।





error: Content is protected !!