पत्रकार महिला ः ३० वर्ष उमेर पुगेपछि जागिर छाड्ने धेरै

नेपाल पत्रकार महासंघका अनुसार देशमा १३ हजार ५० पत्रकार छन् । जसमा महिलाको संख्या दुई हजार तीन सय ५४ छ । यो कुल संख्याको १८ प्रतिशत हो । नेपाली सञ्चारमाध्यममा कार्यरत पत्रकार महिलामध्ये ३० देखि ४० वर्ष उमेर समूहका पत्रकार पेसाबाट पलायन हुने प्रवृत्ति धेरै देखिएको छ ।

सञ्चारिका समूहको अनुसन्धान प्रतिवेदनअनुसार पत्रकारिता पेसामा आबद्ध पत्रकार महिलामध्ये सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेर समूहका छन् । तर, ३० वर्ष उमेर पुगेपछि भने उनीहरू पेसाबाट पलायन हुन्छन् । सञ्चारिकाले ७३ जिल्लाका एक हजार एक सय ४३ महिलामा गरेको अनुसन्धानअनुसार सञ्चारमाध्यममा आबद्धमध्ये ७६।३ प्रतिशत महिला २० देखि ३० वर्ष उमेर समूहका थिए । तर, ३० देखि ४० वर्ष उमेर समूहका महिला भने १२।८ प्रतिशत मात्रै पाइएको थियो । ४० देखि माथिल्लो उमेर समूहका सबैभन्दा कम २।८ प्रतिशत मात्रै छन् ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित ३० वर्ष उमेरपछि पत्रकारिता पेसा छाड्ने महिलाको संख्या धेरै रहेको बताउँछिन् । ‘पत्रकारितामा महिलाको आकर्षण अब्बल नै देखिन्छ । २० देखि ३० वर्ष उमेर समूहका महिला पत्रकारितामा धेरै देखिनुले यही संकेत गर्छ,’ उनी भन्छिन्, ‘तर, ३० वर्ष उमेर पुगेपछि उनीहरू पेसाबाटै पलायन हुने गरेका छन् । विवाह, परिवारप्रतिको उत्तरदायित्व, पेसागत सुरक्षालगायत मुख्य कारण रहेको अनुसन्धानबाट देखिएको छ ।’

राष्ट्रिय सूचना आयोगकी निवर्तमान आयुक्त यशोदा तिमल्सिनाका अनुसार नेपाली सञ्चारमाध्यम महिलामैत्री नहुँदा पनि पेसाबाट पलायन हुने महिलाको संख्या धेरै छ । ‘एउटी बच्चाको आमा पत्रकार हुन सक्छिन् । मिडिया हाउसप्रति उनको जिम्मेवारी जति छ, त्योभन्दा ठूलो जिम्मेवारी काखको बच्चालाई दूध खुवाउनुमा छ । तर, नेपाली मिडिया हाउसले त्यस्ता आमा पत्रकारका निम्ति भनेर ‘ब्रेस्ट फिडिङ’ सेन्टर बनाउन सक्दैन,’ उनी भन्छिन्, ‘एउटा महिला पत्रकारको काम बेलुका ८ बजे सकिन्छ, तर घर फर्कँदा रातको ११ बज्छ । घरमा काखे बच्चा रोइरहेको हुन्छ । उनी घर जान सक्दिनन् । किनकि उनीसँग सवारीसाधन नै हुँदैन ।’

किताव पब्लिसर्सकी सिइओ तथा पत्रकार कल्पना ढकाल महिला पत्रकार पेसाबाट पलायन हुनुमा अवसर र बाध्यता दुवै कारण हुन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘मिडिया हाउसले महिलाका लागि अब्बल वातावरण बनाउन नसक्नु प्रमुख कारण हो । अर्को कुरा, महिलाले ज्ञान र क्षमता विकास गर्दै जाँदा फरक ठाउँमा पनि आफ्नो भविष्य देख्छन् । त्यसैले पेसा परिवर्तन गर्छन् ।’





error: Content is protected !!