विदेशी नागरिकको विवरण संकलन गर्दै प्रहरी

काठमाडौँ ः प्रहरीले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने नागरिकको गोप्य ढंगले विवरण संकलन सुरु गरेको छ । विशेषगरी विदेशी नागरिकलाई लक्षित गरेर विवरण संकलन गरिएको हो ।

उपत्यकाभित्र बसोवास गर्ने विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न पाइएपछि प्रहरी उनीहरूको विवरण संकलनमा लागेको हो । यसका लागि प्रहरीले मातहतका सबै युनिटलाई निर्देशन दिइसकेको छ । विदेशी नागरिकको बसोवास रहेको क्षेत्रका युनिटलाई बढी सक्रिय पारिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले नागरिकको विवरण संकलन कार्य भइरहेको बताए । ‘नागरिकको विवरण संकलनको काम प्रहरीले यसअघि नै थालेको हो । अहिले विशेषगरी विदेशी नागरिकको विवरण संकलन कार्यलाई तीव्रता दिइएको हो । यो काम मातहतका प्रत्येक युनिटले गरिरहेका छन्, सबैलाई निर्देशन गइसकेको छ,’ उनले भने ।

लाजिम्पाट, ठमेल, झम्सिखेल, महाराजगन्ज, रानीबारी, बालुवाटार, दरबारमार्ग, केशरमहल, बौद्ध, टुसाललगायत क्षेत्रमा विदेशी नागरिकको बसोवास बढी छ । प्रहरीका अनुसार यी क्षेत्रमा उनीहरूको गतिविधिमा पनि निगरानी राखिएको छ । ‘स्वदेशी हुन् या विदेशी, उनीहरूका गतिविधिमाथि प्रहरीको निगरानी हुनु स्वाभाविक हो । केही ‘कोर’ क्षेत्रमा भने प्रहरीको निगरानी अलि बढेको हो, यो प्रहरीको नियमित गतिविधिभित्र पर्छ,’ परिसर प्रमुख सुवेदीले भने ।

शंकास्पद गतिविधिमा संलग्न पाइएपछि गत ७ पुसमा प्रहरीले काठमाडौंको बालाजु क्षेत्रबाट एक सय २२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले प्रत्येक नागरिकको विवरण संकलन गर्न नेपाल प्रहरीलाई लिखित निर्देशन नै दिएको थियो । पक्राउ परेका सबै चिनियाँलाई सरकारले देशनिकाला गरिसकेको छ । त्यसबाहेक पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा विदेशी नागरिक पक्राउ पर्दैै आएका छन् । विशेषगरी लागुऔषध तस्करीमा विदेशी नागरिक धेरै पक्राउ हुँदै आएका छन् । त्यस्तै, सुन तस्करी, हत्या, ठगी, साइबर अपराधमा पनि विदेशी नागरिकको संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।





error: Content is protected !!