६ दिनमै हजार शय्याको अस्पताल बनाउन चीनसँग आखिर के छ त्यस्तो जादूयी क्षमता ?

चीनको वुहान शहरमा कोरोना भाइरस लागेका विरामीहरूको उपचारका लागि स्थानीय अधिकारीहरूले ६ दिनमा अस्पताल बनाउने घोषणा गरेका छन् । १ हजार शय्याको हुने उक्त अस्पतालमा सम्भावित संक्रमितका साथै संक्रमण भइसकेका विरामीहरूको उपचार गरिनेछ ।

चिनियाँ सञ्चारमाध्यमहरूले ६ दिनमा उक्त अस्पताल बन्ने भन्दै शुरुवातको तस्वीरसमेत सार्वजनिक गरिसकेका छन् । स्थानीय सञ्चारमाध्यमको दाबीअनुसार २५ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने अस्पतालको शुरूवाती चरणमा स्क्याभेटरहरूले काम थालिसकेका छन् ।

२००३ मा सार्स भाइरसको संक्रमण बढेका बेलामा पनि राजधानी बेइजिङमा त्यस्तै खालको अस्पताल निकै थोरै समयमा निर्माण गरिएको थियो ।

कोरोना भाइरसको संक्रमण १ करोड भन्दा बढी जनसंख्या रहेको वुहानबाट शुरू भएको मानिएको छ । अहिलेसम्म चीनमा ८ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

चीनले ६ दिनमा १ हजार शय्याको अस्पताल कसरी बनाउन सक्छ त रु यस प्रश्नको जवाफमा चिनियाँ अधिकारीहरूले भनेका छन्, ुछिटो निर्णय र कार्यान्वयन गर्ने प्रक्रियालाई चीनको राजनीतिक प्रणालीले आत्मसात गरेको छ । आपतकालीन समयमा प्रशासनिक झन्झट नपर्ने गरी काम भएका उदाहरण यसअघि पनि छन् । अर्को कुरा चीनको जमिन सरकार नियन्त्रित हुने हुनाले सरकारले चाहनेबित्तिकै कुनै पनि संरचना बन्न सक्छन् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कको मिडिया रिपोर्टमा जनाइएअनुसार चीनको राजनीतिक प्रणाली पश्चिमा देशहरूको भन्दा भिन्दै हुनु पनि छिटो अस्पताल निर्माण हुनुको प्रमुख आधार हो ।

चीनको एकदलीय व्यवस्थाले लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको अवधारणालाई आत्मसात गरेको छ । जहाँ केन्द्र सरकारले गरेको निर्णयलाई अन्य तहमा कार्यान्वयनका लागि छिटो छरितो निर्देशन जाने गर्छ र काम हुने गर्छ ।

उक्त राजनीतिक प्रणालीले स्थानीय तहका सरकारहरूलाई केन्द्रप्रति उत्तरदायी बनाउने गर्छ । तर बेलायत, अमेरिका जस्ता देशहरूमा स्थानीय सरकारलाई स्वायत्तता प्रदान गरिएको छ ।

स्थानीय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधिहरू केन्द्र सरकार भन्दा बढी स्थानीय जनतामाथि उत्तरदायी हुन्छन् । यसले निर्णय र कार्यान्वयन प्रक्रियालाई अप्ठेरो पार्न सक्छ ।

चीनको संविधानले जहाँसुकैको जमिन पनि केन्द्र सरकारको सम्पत्ति भएको सुनिश्चितता गरेको छ । तर उक्त जमिन जनतालाई उत्पादनका कार्यमा प्रयोग गर्न भाडामा दिइने गरिएको हुन्छ । यसको अर्थ चीनको सरकारले चाहनेबित्तिकै कुनै पनि जमिन तत्काल खाली गराउन सक्छ ।

सीजीटीएनले भनेको छ, यो बाहिरबाट हेर्दा त जनताको सम्पत्तिको हक विरुद्धको प्रावधान जस्तो लाग्छ तर गहिरिएर हेर्ने हो भने जनताको स्वास्थ्य या अन्य आपतकालीन विषय सरकारले समाधान गर्नुपर्ने हुनाले चीनका लागि यो प्रणाली अत्यन्तै महत्त्वपूर्ण छ





error: Content is protected !!