रुघाखोकी र ज्वरोको औषधि नपाएर हुम्लामा तीन सातामा सातको मृत्यु

हुम्लाका गाउँ–गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो ।

चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरू सबैको २६ पुसयता ज्यान गएको हो । त्यस्तै, सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । ‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँचजनाको ज्यान गयो । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हीराबहादुर शाहीले नयाँ पत्रिकासँग भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन्, तर स्वास्थ्य संस्थामा औषधि अभाव छ ।

गाउँमा प्रकोप फैलिएर बिरामीको ज्यान गएको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।’ स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रुघाखोकीको औषधिसमेत नपाएर ज्यान गुमाउनुपरेकोमा गुनासो पोख्छन् । जिल्ला सदरमुकामबाट चंखेलीको प्रभावित क्षेत्र पुग्न स्थल मार्गबाट दुई दिन लाग्छ ।

सर्केगाड–३ उनापानीको स्वास्थ्य इकाइमा पनि औषधि छैन । ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी झन् बढेका छन्,’ अनमि नन्दा फडेराले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनुपरेको छ ।’ कतिपयमा दमको समस्यासमेत देखिएको, तर गाउँपालिकाबाट औषधि नआउँदा दिन नसकिएको उनको भनाइ छ ।

जिल्ला अस्पातलमा पनि मौसमी रुघाखोकीका बिरामी बढ्न थालेको डा। नवीन रोकायले भने । दैनिक अस्पताल आउने ४०–५० मध्ये ७–८ जना सिजनल फ्लुका बिरामी भेटिएको उनले बताए । ‘खोकी लाग्ने, ज्वरो आउने, नाकबाट पातलो सिँगान बग्ने र हड्डी दुख्ने समस्या उनीहरूमा देखिएको छ,’ डा। रोकायले भने ।

केन्द्र सरकारलाई औपचारिक जानकारी छैन, औषधि र चिकित्सक पठाउने प्रदेश सरकारको तयारी

हुम्लामा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोपबारे केन्द्र सरकारलाई जानकारी छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसबारे औपचारिक जानकारी नगराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । अनौपचारिक जानकारी भएपछि मन्त्रालयले नै थप विवरण मागेको उनले बताए । ‘केन्द्रमा औपचारिक जानकारी आएको छैन । तर, अनौपचारिक जानकारीकै आधारमा हामी थप बुझ्दै छौँ । त्यहाँ स्वास्थ्यकर्मी र औषधिको अवस्थाबारे रिपोर्ट माग्दै छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक परे तयारी अवस्थामा रहेका स्वास्थ्यकर्मी हुम्ला पठाउन सकिन्छ ।’

प्रदेश सरकारले भने चंखेलीको मासिधारामा औषधिसहित आइतबार चिकित्सकको टोली पठाउने तयारी गरेको छ । ‘रुघाखोकी र ज्वरोले बिरामीको ज्यान गएको खबर आएपछि हामीले सुर्खेतबाट ल्याबका उपकरणसहित प्राविधिक टोली र औषधि पठाउने तथा मुगुबाट दुई चिकित्सक पठाउने व्यवस्था मिलाएका छौँ,’ कर्णाली सरकार स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रीता भण्डारीले नयाँ पत्रिकासँग भनिन् । जिल्लामा पर्याप्त औषधि भण्डारण रहेकाले अभाव नहुने उनले बताइन् । शनिबार नेपालगन्जमा बसेको स्वास्थ्यकर्मीको आकस्मिक बैठकले प्रभावित गाउँमा स्वास्थ्यकर्मीको छुट्टै टोली पठाउने निर्णय गरेको प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए ।

मौसमी रुघाखोकीकै कारण गत चैतमा ताजाकोटमा नौजनाको ज्यान गएको थियो
गत वर्ष चैतमा पनि हुम्लामा मौसमी रुघाखोकी फैलिएको थियो । वेलैमा नियन्त्रण नहुँदा ताजाकोट गाउँपालिकामा नौजनाको ज्यान गएको थियो । नयाँ पत्रिकामा समाचार छापिएपछि एक हप्तापछि मात्रै स्वास्थ्यकर्मी र औषधि ताजाकोट पठाइएको थियो । सरकारले पूर्वतयारी नगर्दा सर्वसाधारणको अनाहकमै ज्यान जाने गरेको छ ।





error: Content is protected !!