हिमपातले रोक्यो विकास निर्माण

हेमन्त केसी
जाजरकोट , ८ माघ ,कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपातका कारण विकास निर्माणका काममा वाधा पुग्दै आएको छ ।
यहाँका स्थानीय तहले विकास निर्माणका लागि अहिले सम्झौता गरेर चैतबाट मात्र काम सुरु गर्ने बताएका छन् । उपल्लो डोल्पाका चार र तल्लो डोल्पाको एक स्थानीय तहमा विकास निर्माणका काम गर्न समस्य भएको छ । डोल्पोवुद्धगाउँपालिका , छार्कातामसुङ गाउँपालिका , शे फोक्सुण्डो गाउँपालिका , काईके गाउँपालिकाको माथिल्लो भागमा ,मुड्केचुला गाउँपालिकाको वडा ५ , ६, ७ , ८ र ९ मा समेत भारी हिमपातका कारण विकास निर्माणका काम गर्न समस्य परेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
हिउ विलाएपछि मात्र विकास निर्माणका काम सुरु हुने शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष तसी तन्दुप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्झौताको काम मात्र सुरु भएको छ । हिमपातका कारण उपल्लो डोल्पाका स्थानीयवासीहरु वेशी झरेका छन् । चैतमा तातो भएपछि मात्र आफ्नो थाकथलो फर्किएसँगै विकास निर्माणका काम सुरु हुने गुरुङले जानकारी दिनुभयो । अहिले उपल्लो डोल्पाका स्थानीयवासीहरु जडिवुटी , जम्बु लगाएतका वस्तुहरु लिएर तल्लो भागमा व्यापार गरेर वस्ने गरेको उहाँले बताउनुभयो ।
तातो मौसम सुरु सँगै हिमालमा यार्सागुम्वा संकलनको सिजन सुरु हुनुका साथै विकास निर्माण कामले तिव्रता पाउने बताएको छ । उपल्लो डोल्पाका स्थानीय तहका कार्यालयहरु समेत सदरमुकाम दुनैमा सम्पर्क कार्यालय राखेर विकास निर्माणको सम्झौता गर्ने काम भईरहेको काइके गाउँपालिकाले जनाएको छ । हिमपातका कारण उपल्लो डोल्पामा वस्ने अवस्था नभएकाले सम्झौता , सिफारिस , अन्य काम सदरमुकाम दुनैबाट भईरहेको हुँन् ।
त्यस्तै हुम्लाका अधिकांश स्थानीय तह , मुगुका अधिकांश स्थानीय तहमा हिमपातका कारण विकास निर्माणका काम सुरु गर्न नसकिएको स्थानीय तहका प्रमुखले जानकारी दिएका छन् । हुम्लाको सिमकोट गाउँपालिका , नाम्खा गाउँपालिका , चंखेली गाउँपालिका , सर्केगाड गाउँपालिकामा र खार्पुनाथ गाउँपालिकामा भारी हिमपातका कारण विकास निर्माणका काम ठप्प भएका छन् । त्यस्तै मुगुका अधिकांश स्थानीय तहमा हिउँ भरीभराउ भएका कारण विकास निर्माणको काम सञ्चालन गर्न कठिनाई उत्पन्न भएको छ ।
समयमै काम पुरा नहुने चुनौति
भारी हिमपातका कारण सम्झौता भएको मिति देखि नै विकास निर्माण काम सञ्चालन नहुँदा असार सम्म सवै विकास निर्माणका काम पुरा नहुने समस्या वर्षेनी चुलिदै आएको छ । उपल्लो डोल्पामा चैतमा मात्र सुरु हुने गर्दछ । चैतमा काम सुरु भएसँगै पुर्ण बैशाखमा यार्सागुम्वा संकलनका लागि स्थानीयवासीहरु पाटन तीर जाने भएकाले विकास निर्माणको काम रोकिने गरेको छ ।
कहिले हिमपात , कहिले यार्सागुम्वाका कारण कर्णाली प्रदेशका हिमाली जिल्लाको विकास निर्माण तोकिएको मितिमा पुरा गर्न चुनौति थपिएको सरोकारवालाको भनाई छ । संघ र प्रदेशबाट निर्माण कार्य हुने आयोजनाको अक्तियारी समेत ढिला आउँदा काम तोकिएकै मितिमा गर्न अर्को चुनौती थपिने गरेको छ ।
केही आयोजनाको एकै वर्षमा डिपिआर , ईआए , एआइए लगायतका काम एकै समयमा गर्नुपर्ने बाध्यताका कारण विकास निर्माण तोकिएको मितिमा सम्पन्न गर्न कठिन परेको छ ।





error: Content is protected !!