आजका अखबार ,  विजेता खेलाडीलाई प्रधानमन्त्रीको पुरस्कार घोषणा, सेटिङमा रोहिंग्याको नेपाल प्रवेशदेखि पप्पुको गोलमालसम्म

काठमाडौँ ः २०७६ मंसिर २६ गते राजधानीबाट प्रकाशित हुने प्रमुख अखबारहरुले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० विजेता खेलाडीलाई पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

विजेता खेलाडीलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परे पनि प्रधानमन्त्रीको घोषणामा स्वयं पत्रपत्रिकाहरू नै अन्योलमा परेका छन् । कसैले एक भन्दा बढी स्वर्ण विजेतालाई ११ लाख दिने भनेका छन् भने कुनै पत्रिकाले प्रत्येक पदकको हिसाब गरेर पुरस्कारको राशी बढाएका छन् ।

आजको कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक र अन्नपूर्ण पोष्टले भने खेलाडीलाई प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारलाई पहिलो पृष्ठमै छापे पनि प्राथमिकतामा भने अरु समाचारलाई नै दिएका छन् ।

नयाँ पत्रिका दैनिकले पुलको नाममा पप्पुले गरेको गोलमाल, शीर्षकको समाचारलाई आज मुख्य समाचारको रुपमा छापेको छ भने कान्तिपुरले ‘३० हजार टाकामा भित्रन्छन् रोहिंग्या’ शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोष्टले चर्चामै चिसियो विशेष दूत शीर्षकको समाचारलाई मुख्य बनाएको छ ।

त्यसैगरी भारतीय दूतावास छिर्ने सशस्त्रका डीआईजीमाथि कारबाही गरिएको, सीमा समस्याबारे कुरा गर्न विशेष दूत भारत पठाउने विषय छायामा परेको, गिरोहको सेटिङमा रोहिंग्या नेपाल आउने गरेको लगायतका समाचारलाई पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिका दैनिकले ‘पुलको नाममा पप्पुको तमासा’ शीर्षकमा समाचार छापेको छ । सरकारबाट ६ करोड नगद बुझेको पप्पु कन्स्ट्रक्सनले बीचको भाग मात्र ठड्याएर भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल अलपत्र पारेको, ०७३ बर्खामा सकिनुपर्ने काम ०७६ हिउँदसम्म पर्खिएर सरकारले बल्ल ठेक्का तोडेको, अर्को ठेक्का कहिले लाग्ने हो निश्चित नभएको, ठेक्का लिएको सात वर्षसम्म पनि चितवनको गोलाघाटमा पुलको डिजाइनसमेत नबनेको र पप्पुले केही कामै नगरेपछि कालोसूचीमा राख्न सिफारिस भएको समाचार सार छ ।

नयाँ पत्रिकामै कूटनीतिक आचारसंहिता विपरित गोप्य रुपमा भारतीय दूतावास छिर्ने सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको खबर छापिएको छ ।

अनुमति नलिइ ६ मंसिरमा बा२झ२३९० नम्बरको सरकारी गाडी चढेर उनी लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।

कान्तिपुर दैनिकले ‘३० हजार टाकामा भित्रन्छन् रोहिंग्या’ शीर्षकमा मुख्य समाचारमा काठमाडौँको बूढानीलकण्ठ–११ स्थित राममन्दिर नजिकै टहरामा १७१ तथा बूढानीलकण्ठकै लसुनेटार र काभ्रेको पनौतीसमेत गरी ३७८ जना रोहिंग्या गिरोहको माध्यमबाट आइपुगेको जनाइएको छ ।

म्यानमारबाट विस्थापित भएर बंगलादेशमा पुगेका उनीहरु एजेण्टलाई ३० हजार बंगाली टाका ९४० हजार नेपाली रुपैयाँ० तिरेर भारत हुँदै काठमाडौँ आइपुगेका हुन् ।

रोहिंग्यालाई नेपाल ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ ।

कान्तिपुरमै अन्तर्राष्ट्रिय आपराधिक समूहले अनलाइन ठगी र ह्याकिङको माध्यमबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत विदेश पुर्याउने गरेको खुलेको समाचार छापिएको छ । अन्तरराष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसले नेपाली सहयोगीसँग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्र दैनिकले ‘सागमा पदक पाउने खेलाडीलाई पुरस्कार’ शीर्षकमा समाचार छापेको छ ।

समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक जितेका खेलाडीलाई प्रतिपदक ११ लाख, रजत पदक प्राप्त गरेका खेलाडीलाई प्रतिपदक ६ लाख, कांस्य पदक विजेता खेलाडीलाई ३ लाख र समूह खेलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको समाचारमा उल्लेख छ । प्रमले बुधबार खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएर सो घोषणा गरेका हुन् ।

गोरखापत्रमै राजधानीमा विजुलीका तार भूमिगत गरिन लागिएको खबर छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।

नेपालमा पहिलोपटक विद्युत तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत् तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताए । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिए ।

अन्नपूर्ण पोस्टले ‘चर्चामै चिसियो विशेष दूत’ शीर्षकमा समाचारमा छापेको छ । समाचारमा भारतसँगको सीमा विवादबारे वार्ता गर्न नेकपा नेता माधव नेपाल विशेष दूत बनेर भारत जाने योजनामा एकाएक ‘ब्रेक’ लागेको उल्लेख छ ।

‘सरकारबाट संस्थागत ‘अप्रोच’ नै भएन। अनि रोकियो कमरेडको विशेष–दूत बनेर भारत जाने प्रसंग’, नेकपाका एक सचिवालय सदस्यले भने। नेपाललाई साँच्चै दूत बनाएर पठाउन खोजेका भए प्रधानमन्त्रीले तीन तरिकाबाट पहल लिन सक्थे, पहिलो, नेपालस्थित भारतीय राजदूतलाई बोलाएर विशेष दूत पठाउँदै छु, तयारी गर्नुस्। दोस्रो, विशेष दूत पठाउन लागेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर गर्न सक्थे।

तेस्रो, आफैले सीधा–सीधा टेलिफोन संवाद गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष दूत पठाउन लागेको जानकारी गराउन सक्थे। तर यी प्रयास खास नभएको कारण माधव नेपालको ‘विशेष दूत’ को चर्चा ‘प्रोजेक्सन’ मात्र भएको बुझाइमा छन्, नेकपाका ती सचिवालय सदस्यले भने । भारतले कात्तिक १६ मा जारी गरेको राजनीतिक नक्सापछि कालापानी क्षेत्रको सीमा विवाद फेरि एकपल्ट बल्झेको हो।

नागरिक दैनिकले स्वर्ण विजेतालाई नौ लाख शीर्षकको विजेता खेलाडीलाई पुरस्कार घोषणा गरिएको समाचार र सर्वोच्चले फैसला गरेको विषयलाई प्रदेशको हकमा हस्तक्षेप नगर शीर्षकको समाचारलाई बराबर प्राथमिकतामा मुख्य खबरका रुपमा छापेको छ ।

प्रधानमन्त्रीले सागमा विजेता खेलाडीलाई पुरस्कार घोषणा गरेको समाचारलाई नागरिक दैनिकले लेखेको छ– सरकारले सागका स्वर्णपदक विजेता खेलाडीलाई जनही नगद ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । एकभन्दा बढी स्वर्णपदक जित्ने चार खेलाडीलाई सरकारले प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार दिइने छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पनि एकभन्दा बढी स्वर्ण विजेताले प्रतिस्वर्ण ११ लाखका दरले पाउने बताएका छन् ।

त्यसैगरी नागरिक दैनिकमै प्रदेश नं। ५ को राजधानी कहाँ बनाउने भन्ने विवाद भइरहँदा संसदीय टोली राजधानी कस्तो बनाउने भनेर अध्ययन गर्न भारत पुगेको समाचार पनि पहिलो पृष्ठमै छापिएको छ ।

राजधानी दैनिकमा अख्तियारसँग जोडिएकाहरु नै धमाधम भ्रस्टाचार मुद्दामा तानिएको खबर छापिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् ।

अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् ।

अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ ।

नेपाल समाचारपत्रले रजत र काँश्यमा पुरस्कार घोषणा नहुँदाको गुनासो, पदक जित्दाको खुसी निरासामा परिणत भयो शीर्षकमा मुख्य समाचार छापेको छ ।

सागमा विजेताहरुलाई पुरस्कारको घोषणा गर्दा व्यक्तिगत र टिम इभेन्टमा खेल्ने खेलाडीमा फरक छुट्याएको, टिम इभेन्टमा रजत र कास्य पदक जितेका खेलाडीलाई कुनै पुरस्कारको घोषणा नगरिएकोले खेलाडीहरु निरास बनेको समाचार समाचारपत्र दैनिकले छापेको छ ।

अरुको पुरस्कार घोषणा हुँदा पनि टिम इभेन्टतर्फ रजत र कास्य जित्नेहरुले पाउने रकम पनि तोकिदिएको भए राम्रो हुने खेलाडीहरुले प्रतिक्रिया दिएको खबर छापिएको छ ।





error: Content is protected !!