आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’ – वन तथा वातावरणमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’ भएको बताउनुभयो । दुर्लभ वन्यजन्तु बाघ, गैँंडा जस्ता जनावरको सङ्ख्या वृद्धि गरी चोरी शिकार नियन्त्रण गरेर नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु गरेको वाचा पूरा गरेको मन्त्री बस्नेतले जानकारी गराउनुभयो ।
शून्य चोरी शिकार नेपालको सफलता भएको भन्दै उहाँले यस कार्यमा संरक्षणकर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । मन्त्री बस्नेतले रेन्जरको काममा प्रभाव पार्ने मुद्दामा छलफल गर्नुका साथै साझेदारीका अवसर सिर्जना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने बताउनुभयो ।

सो अवसरमा आईआरएफका अध्यक्ष सन विलमोरले एशियामा पहिलो पटक विश्व रेन्जर सम्मेलनको आयोजना गरेकोमा नेपालप्रति आभार प्रकट गर्नुभयो । चोरीशिकार तथा संरक्षण प्रयासमा उत्कृष्ट सावित भइसकेको नेपाल सम्मेलनको आयोजनाका निम्ति एक स्वभाविक चयन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यति ठूलो सङ्ख्यामा रेन्जर उपस्थित भई महत्वपूर्ण बैठकमा भाग लिने र यस सुन्दर देशबाट प्रेरित हुने कुराले हामी निकै हर्षित रहेका छौ ।”

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, सहसचिव डा महेश्वर ढकाललगायतले सम्मेलनको सफलताको कामना गर्नुभएको थियो ।

एशियामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ ।

यस अघिको आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलन तयारी समितिका संयोजक डा महेश्वर ढकालका अनुसार नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्दै छ ।

त्यसैगरी प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आ–आफ्ना प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानवद्वन्द्व न्यूनीकरणका विषयमा विज्ञहरुले आ–आफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताउनुभयो।

वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको साझ संस्था आईआरएफ हो । सम्मेलनमा रेन्जरको कामको प्रकृति, कामको गतिमा सुधार, संरक्षणमा उनीहरुले खेलेको भूमिकाको मूल्याङ्कन, प्रविधि हस्तान्तरण, रेन्जरका रुपमा महिलाको योगदान, समुदायस्तरमा उनीहरुले पु¥याएको योगदान, आगामी दिनमा उनीहरुको सुरक्षाबारे छलफल हुने जनाइएको छ ।

पर्यटन वर्ष २०२० को सङ्घारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विश्वमानै वन्यजन्तु सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात रहेको छ । यहाँका एक सिङ्गे गैँडा, पाटेवाघलगायतका जनावर हेर्न हरेक वर्ष स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।





error: Content is protected !!