जगदुल्ला जलविद्युत आयोजनाको डिपिआर बनाइँदै ,आयोजनामा २२ अर्ब रुपैयाँ लाग्ने अनुमान

डोल्पा ः तल्लो डोल्पाअन्तर्गत जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ । डिपिआर निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

जगदुल्लाको डिपिआर निर्माणको जिम्मा एनइए इन्जिनियरिङ कन्सलटेन्सीलाई दिइएको थियो । यसका लागि २३ महिनाको समयावधि तोकिएको थियो । तोकिएको समयावधि पुसमा सकिँदै छ । पुससम्म डिपिआर निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको कम्पनीले जनाएको छ ।

यो आयोजना निर्माणका लागि सात वर्ष लाग्ने जनाएको छ । सडक, पुललगायत पूर्वाधार निर्माणमा दुई वर्ष र त्यसपछि विद्युत् आयोजनामा पाँच वर्ष लाग्ने अनुमान गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले बताए ।

उनका अनुसार, यो आयोजनामा २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘डिपिआर बनेपछि सबै यकिन होला, तैपनि सम्पूर्ण काम सम्पन्न हुँदासम्म २२ अर्बसम्म लाग्ने अनुमान गरिएको छ,’ आयोजना प्रमुख सापकोटाले भने ।

यो आयोजनामा सुरुङ पनि निर्माण गरिनेछ । मुड्केचुला गाउँपालिकाको इलमा विद्युत्गृह निर्माण गरिने जनाएको छ । विद्युत्गृहमा पानी खसाल्न ६ दशमलव १ किलोमिटर सुरुङमार्ग निर्माण गरेर आयोजनाले जनाएको छ ।

सम्पर्क मार्गको स्तरोन्नति गर्नुपर्ने
जगदुल्ला जलविद्युत् आयोजना निर्माणस्थलसम्म पुग्ने सम्पर्क मार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । आयोजनाको निर्माणस्थलको नजिकसम्म सडक जोडिएको छ । रुकुमको त्रिवेणी बजारलाई जाजजरकोट–डोल्पा सडकले जोडेको छ । यो सडक साघुँरो भएकाले निर्माण सामग्री ढुवानी गर्न समस्या हुने आयोजना प्रमुख सापकोटाले बताए ।

त्यस्तै, जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गन मन्मै र तल्नुबगरमा पुल निर्माण गर्न बाँकी छ । सडकको स्तरोन्नति र पुल निर्माण आवश्यक भएको आयोजना प्रमुख सापकोटाले बताए । दुवै ठाउँमा पुल निर्माण र ३८ किलोमिटर लामो त्रिवेणी–सडकका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

त्रिवेणी–काइगाउँ सडक निर्माणका लागि बजेट विनियोजन गरिएको कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए । उनका अनुसार, सांसद विकास कोषबाट पाँच करोड छुट्याइएको छ ।

बजेट विनियोजन गर्न माग
जगदुल्ला जलविद्युत् आयोजनाका लागि बजेट विनियोजन गर्न संघीय र प्रदेश सरकारलाई स्थानीय वासिन्दाले आग्रह गरेका छन् । बजेटको अभावमा आयोजना ढिलाइ हुन नपर्ने उनीहरूको भनाइ छ ।

यसको बजेटका लागि तीनै तहका सरकारलाई आग्रह गरिने आयोजना प्रमुख सापकोटाले बताए । डिपिआर बनेपछि यस क्षेत्रका सांसदसहितको टोली तीनै तहका सरकारसँग पुग्ने उनको भनाइ छ ।





error: Content is protected !!