हजुरआमा, आमा र दिदीको नाममा

मास कम्युनिकेसनमा स्नातकोत्तर गरेकी सोना खटिक सामुदायिक रेडियो कपिलवस्तुकी स्टेसन मेनेजर हुन् । वल्र्ड बैंकले प्रदान गर्ने ‘नेपालका प्रेरणादायी हिरो– २०१८’ अवार्ड पाएकी छिन् उनले । उनी लेख्छिन् ‘खटिक समुदायमै मबाहेक सबै छोरीको बालविवाह भएको छ ।’ खटिक महिलाको जीवनशैली र दुःखमाथि सोनाको अनुभव–लेख:

यस अंकमा हामीले समाजको पिँधमा बाँचिरहेका मानिसका कथा समेट्ने प्रयास गरेका छौँ । सीमान्त समुदायका नौ महिलाका यी अनुभूतिले उनीहरूको समुदायको यथार्थ कहनेछन् । यी केही प्रतिनिधि भोगाइ मात्रै हुन् । यिनले समाजको भुइँतहमा बाँच्न बाध्य मान्छेका जिन्दगी तथा असमान व्यवस्था बुझ्न सघाउनेछन् ।

यो लेख मेरी आमाको कथाबाट सुरु गर्छु । यसअघिका मेरा लेख वा ममाथि छापिएका लेखमा मेरी आमाको जीवनशैलीबारे केही अंश उल्लेख छन् । मधेसी दलित समुदायकी मेरी आमा साक्षर हुनुहुन्छ र सक्षम पनि । विसं। ०४५ मा पहिलोपटक कपिलवस्तुमा जिल्लाव्यापी रूपमै साक्षरता अभियान सञ्चालन गरिएको थियो । छोटो अवधिमा निरक्षरता उन्मूलन गर्ने उद्देश्यसहित त्यस कार्यक्रम जिल्लामा ल्याइएको थियो । त्यतिवेला घरमा हामी चार छोराछोरी थियौँ । छोराछोरीकै स्याहारमा आमाको सबै समय बित्थ्यो । त्यसैले, त्यो साक्षरता कार्यक्रममा भाग लिएर आमाले पढ्न पाउनुभएन ।

विसं। ०४८ सालमा सञ्चालन भएको रात्रिकक्षामा भने आमाले पढ्न सुरु गर्नुभयो । त्यो प्रौढशिक्षा कार्यक्रममा राति ११ बजेसम्म पढाइ हुन्थ्यो, लालटिनको उज्यालोमा । त्यो अनौपचारिक कक्षालाई हाम्रो गाउँतिर हेँढा स्कुल भनिन्छ । मलाई सम्झना छ– पुसमाघको जाडोमा गाउँमा पढ्ने लहर चलेको थियो । छोराछोरीको स्याहार, दिनभरको कामले आमा निकै थाक्नुहुन्थ्यो । बेलुका खाना पकाएर घरका सबै परिवारलाई खुवाएपछि आमा पढ्न निस्कनुहुन्थ्यो, हातमा किताब–कापी च्यापेर । रात गाढा हुँदै गएपछि हेँढामा गाउँका आमाहरूको कल्याङमल्याङ सुनिन्थ्यो ।

माइतीमा एक्ली छोरी भए पनि पढ्ने उमेर छँदा मेरी आमा स्कुल जान पाउनुभएन । प्रौढशिक्षाको कक्षामा भने निकै मिहिनेतका साथ पढ्नुभयो । अन्ततः आफूले पढेपछि कान्छो दाइ र मलाई घरमै पढाउन सुरु गर्नुभयो । आमाका लागि गणित विषय सजिलो थियो । अंगे्रजी विषय पढ्न–पढाउन नजाने पनि गणितका आधारभूत नियम आमाले राम्ररी बुझाउनुभयो ।

म बाल विकास कक्षामा पढ्न जानुअघि नै मलाई १ देखि १०० सम्मको गिन्ती आउँथ्यो । कक्षा १ पुग्दा २ देखि १० सम्मको ‘पहाडा’आमाले सिकाइसक्नुभएको थियो । साधारण जोड–घटाउ, गुणन–भाग र नेपाली विषय म मजासँग लेख्न–पढ्न सक्ने भइसकेकी थिएँ । आमाले सिकाउनुभएकैले मलाई गणित विषय सजिलो लाग्थ्यो । मैले गणित विषयमै बिएड पास गरेँ ।

आमालाई सानैदेखि चुलोचौकाको काम, घरपरिवारको हेरचाह र खेतीबारीको काममा अभ्यस्त गराइयो । घर–आँगनको काम नै उहाँको पहिलो सिकाइ भयो ।
आमाको सानै उमेरमा विवाह भयो । आमाकी आमा अर्थात् मेरी हजुरआमा९नानी०को पनि सानैमा विवाह भएको थियो । चार वर्षमा विवाह भएकी हजुरआमा १० वर्षको उमेरमा ‘गौना’ भई ससुराली आउनुभयो । ससुरालीमा पाँच वर्ष बिताएपछि १५ वर्षको उमेरमा ससुरालीमै पहिलोपटक उहाँको महिनावारी
भयो । पहिलो रजस्वलाको पीडा नसकिँदै गर्भवती हुनुभयो । १६ वर्षको उमेरमा पहिलो छोरालाई जन्म दिनुभयो । हजुरआमा १७ वर्षकी हुँदा मेरी आमा जन्मिइन् । १८ वर्षको उमेरमा एकल हुनुभयो ।

चार वर्षभित्र चार पीडा सहनुभयो, हजुरआमाले । खेल्ने–खाने १८ वर्षको उमेरमा मेरी हजुरआमा आमा मात्र नभई एकल पनि हुनुभयो । अति दुःखसँग दुई छोराछोरी हुर्काउनुभयो । घरमा ठीकै सम्पत्ति भए पनि बिरामी पर्दा औषधि उपचार, घरको रेखदेखदेख अनेक जिम्मेवारी सम्हाल्न एकल महिलालाई कति गाह्रो थियो होला, म अहिले कल्पना मात्रै गर्न सक्छु ।

मेरो निर्लज्ज समाज एकल महिलालाई सहयोग गर्दैन । बरु एकल महिला हिँडिरहेको बाटोमा अवरोध उत्पन्न गर्छ । घरकै देवरले उहाँसँग निहुँ खोजे, गाउँलेले छेडखानी गरे । यी सबैको प्रतिकार गर्दै उहाँले छोरालाई पढाउनुभयो, तर मेरी आमालाई विद्यालय पठाउन सक्नुभएन । र, आमाले सानैदेखि समाजको तिरस्कार भोग्नुभयो । तिरस्कारको बदलामा प्रतिकार सिक्नुभयो । १५ वर्षको उमेरमै विवाहपछि आमाले ठूलो भारी बोक्नुपयो १० जनाको परिवारलाई खाना पकाउनुपथ्र्यो, घाँस–दाउरा सबै गर्नुपथ्र्यो । अझ पानीका लागि राति चार बजेदेखि धारामा लाइनमा बस्नु, जाँतोमा गहुँ पिस्नु, ढिकीमा धान कुट्नु उहाँको दैनिकीमा पर्थे ।

घरकी जेठी बुहारी भएकीले पहिले आमाले नै सबै कामको अगुवाइ गर्नुपथ्र्यो । सानो काम बिग्रिँदा पनि सबै अपजस आमामाथि नै जान्थ्यो । विवाहको केही वर्षमै बच्चाको अपेक्षा हुन्थ्यो परिवारका सदस्यमा । छिटोभन्दा छिटो सन्तानको प्रतीक्षा गर्थे– श्रीमान्, सासू, ससुरा । बच्चा छिट्टै जन्मेन भने बुहारीमाथि गाली–गलोज, कुटपिट चल्थ्यो । बुहारीलाई घरबाट निकाल्नसमेत पछि पर्दैनथे ।

यस्तो बज्रपात आमामाथि पनि प(यो । किनभने आमाभन्दा पछि घर पसेका दुवैजना देउरानीका सन्तान जन्मिइसकेका थिए । त्यसकारण पनि देउरानीहरूले थोरै काम गरे हुन्थ्यो । एकछिन पनि मेरी आमाको हात खाली हुँदैनथ्यो । घरबाहिर र भित्रका सबै काम आमाले गर्नुपथ्र्यो । खेतको अन्नबाली काट्न होस् वा रोप्न, त्यो जिम्मा आमाकै काँधमा पथ्र्यो । आमाले काम गरिनन् भने सासू र काकाको कुटाइ खानुपथ्र्यो ।

विवाहको चार वर्षपछि आमाले जेठो दाइलाई जन्म दिनुभयो । घरमा आमासँग गरिने व्यवहारमा कुनै परिवर्तन आएको थिएन । मेरो बुबा सोझो हुनुहुन्थ्यो, कसैलाई केही नभन्ने १ श्रीमती कुटिए पनि, छोरा कुटिए पनि घरमा एक शब्द नबोल्ने १ घरको काम त छँदै छ, झन् कुटाइ पनि सुरु भयो आमामाथि । बुबा काम गर्न घरबाहिर जाँदा त्यही घरका पुरुषले श्रीमती छाडेरसमेत आमालाई सताए । अन्ततः आमाले यी सबै कहर सहन सक्नुभएन । जेठो छोरालाई लिएर बुबासँगै सधैँका लागि घर छाडेर हिँड्नुभयो ।

उहाँहरू थारू गाउँमा बस्नुभयो । थारूहरूकै हलिया चलिया हुनुभयो । चौकीदारी गरेर दिन–रात बिते । अनेक दुःख, कष्टबीच चार छोराछोरी जन्मिए । हलिया चलिया गरेरै तीन छोराछोरीलाई विद्यालय पठाउनुभयो । आमाले पनि एकजना दिदीलाई विद्यालय पठाउन सक्नुभएन । दिदीको काम थियो, चुलो–चौको, घाँस–दाउरा । कक्षा १० सम्म पढेपछि जेठो दाइ मजदुरी गर्न दिल्ली पुगे । आमाले दुई छोरा–छोरीलाई अझै पढाउँदै हुनुहुन्छ ।

०००

मेरी दिदीले पनि आमा र हजुरआमाले जस्तै जिन्दगी बाँचिन् । समाज उही, मानिसको मानसिकता पनि उही । मेरो गाउँमा अहिले पनि हामीले दुःख पाउँदा निकै रमाउने मानिस छन् । यस्तै मानिस मिलेर बनेको छ, मेरो गाउँ । दिदी लक्ष्मीदेवी खटिकको पनि कलिलै उमेरमा विवाह भयो, १६ वर्षमै । ०५४ सालमा दिदी ससुराली गइन् । सासूले सुत्केरी बुहारी स्याहारेको थाहा थियो । तर, मेरी दिदीको जिन्दगीमा ठीक उल्टो हुँदै थियो ।

ससुराली गएपछि दिदीकी सासूले तीन सन्तान जन्माइन् । तीनैजना देवरको सालनाल सफा गर्ने काम दिदीकै काँधमा प(यो । उनले सुत्केरी सासू र तीन देवरको स्याहार गरिन् । समयमै खाना खुवाएर कान्छो देवरलाई स्कुल पठाउनुपर्ने, श्रीमान्–ससुरालाई काममा खाजा पु(याउनुपर्ने, ससुराको स्याहार गर्नुपर्ने सबै जिम्मेवारी दिदीकै थियो । गर्भवती भएको वेला पनि दाउराका लागि दैनिक ५० किलोमिटर हिँडेर जंगल पुग्नु, टाउकोमा दाउरा बोकेर फेरि उत्ति नै हिँडेर घर फर्किनु दिदीको दैनिक–जीवन थियो । गाई, गोठ, खेतीपाती, बाली काट्नु–रोप्नु त छँदै थियो ।

१० वर्षसम्म मेरी दिदीको जीवनचक्र यस्तै थियो । समय क्रममा दिदी पनि तीन सन्तानकी आमा बनिन् । स्याहार नपुगेर एउटी छोरीको मृत्यु भयो । जिउज्यान सुम्पेर परिवार चलाइरहेकी दिदीमाथि अर्को तनाव थपियो– भिनाजुले ‘तिमी अशिक्षित छौ’ भन्दै आठ कक्षा पढेकी सौता घरमा भित्र्रयाएपछि । त्यस घरमा कुनै सदस्यको भन्दा कम योगदान थिएन, दिदीको । तर, सुत्केरी भएका वेला आफैँले स्याहार गरेकी सासू, ‘पढेका’ देवर– कसैले पनि दिदीमाथि भलो सोचेनन् । ‘पढे–लेखेकी अर्की बुहारी पाइयो’ भनेर दिदीलाई घरबाटै निकाल्ने तानाबाना सुरु भयो । दिदीमाथि अनेक आरोप लाग्न थाले । झगडा, कचकच, कुटपिट त दिनहुँ हुने नै भयो । सासू–श्रीमान्–देवर जहिल्यै ‘घरबाट आजै निस्की’ भनिरहन्थे । त्यही समय दिदी अत्यन्त बिरामी परिन् । पानी भरिएर शरीर सुन्निइसकेको थियो ।

ससुराली गएपछि दिदीकी सासूले तीन सन्तान जन्माइन् । तीनैजना देवरको सालनाल सफा गर्ने काम दिदीकै काँधमा प(यो । उनले सुत्केरी सासू र तीनजना देवरको स्याहार गरिन् ।

यत्तिका यातना आफूमाथि हुँदा पनि दिदीले माइतीलाई खबर गरिनन् । माइतीमा खबर त्यसवेला पुग्यो, जतिवेला दिदीको अवस्था साह्रै नाजुक भइसकेको थियो । मेरी आँटिली आमा दिदीको घर पुगिन् । दिदी र उनकी सन्तानलाई ससुरालीबाट निकालिन् । ससुरालीका मानिस एक शब्द बोलेनन् । दिदीले सासूको कपडा लगाएकी थिइन् । सासूले दिदीसँग आफ्नो कपडासमेत खोल्न भनिन् । दिदीले भनिन्, ‘ठीक छ, म हजुरले दिएको कपडा खोल्न तयार छु । तपाईंले पनि मैले दिएको कपडा लगाउनुभएको छ । तपाईंले पनि त्यो खोल्नुपर्ने हो, तर म खोल्नू भन्दिनँ । किनकि, तपाईं आमा हुनुहुन्छ । आमाले छोरीलाई नंग्याउँदैमा छोरीले पनि आमालाई नंग्याउने गर्दैनन् ।’ दिदीले कपडा खोलेर सासूलाई दिइन् ।

र, आमाको साडी बीचबाट चिरेर दिदी र आमाले आधा–आधा बनाएर लगाए । रमिता हेरिरहेका गाउँले मूकदर्शक बनिरहे । दिदी र सासूलाई पालैपालो हेरिरहे । उनीहरूको मुखबाट एक शब्द पनि निस्केन । सासू ससुरालीतिर, दिदी माइततिर लागे । माइत आउने बाटोमा चन्द्रौटा बजार पर्छ । त्यही बजारमा आमाले दुवैका लागि साडी किन्नुभयो । र, घर फर्कनुभयो ।माइत आएको केही समयपछि दिदी स्वस्थ भइन् । दिदीको न घरबार थियो, न सम्पत्ति । र, लक्ष्मी दिदी अदालत पुगिन्, अंशका लागि । माइतीबाट कपिलवस्तु जिल्ला अदालतसम्म पुग्न एकजनालाई कम्तीमा दुई सय रुपैयाँ भाडा लाग्थ्यो ।

यातायात खर्च मात्रै भए पनि कटौती गर्न दिदीले साइकल चलाउन सिकिन् । दिनको ४० किलोमिटर साइकल चलाएर तीन वर्षसम्म जिल्ला अदालत धाइन् । त्यसपछि मुद्दा बुटवल अदालत स(यो । खर्च झन् बढ्ने भएपछि म आफैँ दिदीको सट्टा वारिस बसेर बुटवलमा तारिख लिएँ । बुटवलकै एउटा निजी विद्यालयको होस्टेलमा दिदीले जागिर पाइन् । ०६५ कत्तिकदेखि दिदी बुटवलमै बस्न थालिन् ।

मुद्दा बुटवलबाट आफ्नै जिल्लामा फर्कियो । त्यसवेलासम्म मैले कपिलवस्तुकै ‘रेडियो कपिलवस्तु’मा काम सुरु गरिसकेका कारण मलाई तारिख लिन सहज भयो । म दिदीको मुद्दामा वारेस बसेँ ।होस्टेलमा दिदीको काम हुन्थ्यो– कपडामा लेखिएको नाम पढेर कपडा बाँड्नुपर्ने, धुन दिइएको कपडाको हिसाब हेर्नुपर्ने । यो काम पहिले अरू कुनै स्टाफले गर्थे ।

निरक्षर दिदीलाई यी सबै काम गर्नु निकै अप्ठ्यारो थियो । अक्षर चिन्न गाह्रो भएपछि उनले कपडामा सांकेतिक चिनो लगाउन थालिन् । अब दिदीले पढ्ने रहर गरिन् । उनका गुरु थिए– विद्यार्थी, शिक्षिका र वार्डेन । दिनभरि काम गर्थिन् र रातमा उनीहरूसँगै पढ्थिन् । अहिले त्यहाँ काम गरेको ११ वर्ष चल्दै छ । दिदी विद्यार्थीको नाम अंगे्रजीमा लेख्न सक्छिन्– पढ्न सक्छिन् । खरर्र नेपाली लेख्नरपढ्न सक्छिन् ।

अनेक चित्र बनाउँछिन्, नयाँ डिजाइनका डल बनाउँछिन् । उनी अहिले आमा–बुबालाई हेर्छिन् । दिदीको जीवन कस्तो थियो, कस्तो भयो १ म वेला–वेला उनको पुरानो जिन्दगी सम्झेर भक्कानिन्छु । उनको अंशमुद्दा ०७० सालमा सकियो । उनले अंश पाइन् । छोरा, छोरी र दिदीको नाममा लालपुर्जा बनिसकेको छ । छोरा अहिले प्रहरीमा भर्ती भएका छन्, छोरी कक्षा ११ पढ्दै छिन् ।
मेरा हजुरआमा, आमा र दिदीको जिन्दगीको कथा मिलेर यो कथा बनेको छ । अब अर्को कथा भन्छु– मेरी काकाकी छोरीहरूको । हाम्रो वंशमै मबाहेक सबै छोरीहरूको बालविवाह भएको छ । बुहारी भएपछि सुरु हुने तनावले भरिएको उनीहरूको दोस्रो जिन्दगीको दुःख यहाँ बयान गरिसाध्य छैन ।

माइलो काकाकी दुईवटी छोरीमध्ये एउटीको जीवन माइतीमै बितेको छ । उमेरले ४५ नाघिसकिन् । घरभित्र र बाहिरका सबै काम गर्छिन् । उनको एउटै समस्या छ–कान कम सुन्छिन् । आजभन्दा करिब ३० वर्षअघि उनको गौना भएको थियो । ३० वर्षे अवधिमा उनी तीन महिना पनि ससुराली बसेकी छैनन् । हाम्रोमा गौनाको सात दिनपछि मात्र माइती आउन पाइन्छ । तर, उनी सधैँ माइतीमै बसिन्– घरकाले गरेको कुटपिट, लगाएको अनेक आरोप सहन नसकेर । कुटपिटपछि कान नसुन्ने समस्या झन् बढ्यो । अहिले उनीसँग न नागरिकता छ, न विवाह दर्ता, न सम्पत्ति ।
राज्यले उहिल्यै ‘खटिक जाति पनि दलित हुन्’ भनेर सूचीकृत गरेको थियो । तर, राष्ट्रिय जनगणना–०६८ को तथ्यांकमा समेत खटिक जातिको वास्तविक डाटा छैन । त्यसैले, स्थानीय तहसँग पनि खटिक जातिको खास तथ्यांक पाइँदैन । हाम्रा पीडा र सफलताका कथा हामी आफैँले बाहिर ल्याउन सुरु गर्नुपर्छ भनेर यो लेख लेखेको हुँ । अहिले एक–दुई खटिक महिलाले धेरै संघर्षपछि स्नातकोत्तर गरेका छन्, वल्र्ड बैंकको अवार्ड पाएका छन्, रेडियोको स्टेसन मेनेजर पनि बनेका छन् । नयाँ संघीय संरचानामा अरू दलित महिलाजस्तै खटिक जातिबाट तीनजना महिला जनप्रतिनिधि पनि बनेका छन् । उनीहरू जनप्रतिनिधि बन्नुको पछाडि भयानक संघर्ष जोडिएको छ ।

मेरै दिदी–बहिनीका हारेका जिन्दगीका सबै कथा लेख्न थालेँ भने एउटा मोटो किताबै बन्ला । खटिक समुदायको महिला–जीवन पीडाका चाङ मिलेर बनेको छ । संघर्ष गर्ने एक–दुई महिलाले सफलता पनि पाएका छन् । नत्र जिन्दगीसँग हारिरहनु।।। मात्र हारिरहनु हाम्रो नियति बनेको छ । कपिलवस्तु जिल्लामै करिब सय घरधुरी छन्, खटिक समुदायको । मेरी हजुरआमा, आमा र दिदीको दुःखमा उस्तो परिर्वतन छैन । यो तीन पुस्ताले जस्तै अबको पुस्ताले दुःख भोग्नु नपरोस् भन्छु । तर, हरेक घरभित्र पीडाको अग्लो सगरमाथा जमेर बसेको छ ।





error: Content is protected !!