जाजरकोट , स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

जाजरकोट ः दुर्गम र विकट जिल्लाका रुपमा परिचित जाजरकोट अब पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ। यहाँस्थित वारेकोटको साइक्वारी क्षेत्रले जिल्लाको पर्यटन सम्भावनालाई साकार पारेको हो।

 

वरिपरि कलकल बग्ने सानाठूला खोलाहरु, कतै टलक्क चम्किरहेका हिमश्रृंखलाहरु, कतै चिसो र मन्द हावामा पैसेरीका नाचरीजस्तै झुलिरहेका वनस्पतिहरुको दृश्य अनि पाटनभरि फुलिरहेका बुकी र प्याउली फुलहरुले सजाएको क्षेत्र हो साइक्वारी।
सदरमुकाम खलंगादेखि तीन घन्टाको गाडी यात्रापछिको दुई दिनको पैदल यात्रापछि पुगिने सुन्दर साइक्वारी क्षेत्र राज्यका निकायको नजरमा परेको छैन।

विश्वमै दुर्लभ जन्तु र पंक्षीहरुको बासस्थानले सिंगारिएको वारेकोटको साइक्वारी क्षेत्र सुन्दर मात्र होइन जाजरकोटको समृद्धिको आधार पनि हो। भौगोलिक विकटता अनि दुर्गम वस्तीहरुको सिरानीमा समुद्र सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा रहेको वारेकोटको सुन्दर धार्मिक पर्यटकीय क्षेत्र साइक्वारी प्राकृतिक सुन्दरताको उत्कृष्ट नमुना पनि हो।

स्वर्ग कस्तो होला भनेर सोध्नेहरुका लागि एउटा उत्तर पनि हो वारेकोटको साइक्वारी अनि वरिपरिको सुन्दर भुगोल। कहाँ मान्छेको मन आनन्दित हुन्छरु कहाँ मन नाँच्छरु कहाँ मन रमाउछरु यिनै सवाल र प्रश्नहरुको वस्तुगत उत्तर दिन्छ वारेकोटको साइक्वारी क्षेत्रको सुन्दरताले।

वारेकोट गाउँपालिका वडा नम्बर ४ को भुगोलमा पर्ने साइक्वारी क्षेत्रलाई प्राकृतिक सुन्दरता, धार्मिक विश्वास र जैविक विशिष्टताका कारण स्वर्ग भन्दा पनि फरक नपर्ने पंक्षी खोजकर्ता गोविन्दवहादुर सिंह बताउछन्। जलवायु परिवर्तनको असर भएको बेला पनि सुरक्षित जैविक विविधता रहेको वारेकोटको साइक्वारी आसपासका क्षेत्र सुन्दर मात्र होइन स्वस्थ पनि रहेको सिंहले बताए। धर्मयुगमा भगवान शिवजीले मृत अवस्थाकी सत्यदेवीको देह बोकेर संसार घुमाउने क्रममा उनको कुनै एउटा अंग पतन भएको र संसार यात्राको क्रममा थाकेपछि शिवजीले थकाइ मार्न बास बसेको स्थान साइक्वारी हो भन्ने किम्वदन्ती रहेको छ।

वारेकोट गाउँपालिका ५ का ८८ वर्षीय भीमबहादुर शाहले उति बेला यो साइक्वारीमा शिव भगवान बास बसेको र सत्यदेवीको अंग पनि पतन भएकोवारे आफूले बुढापाकाबाट सानैमा सुनेको बताए। उनले वारेकोट लगायत विभिन्न क्षेत्रका सर्वसाधारणले साइक्वारी क्षेत्रलाई काशीको अर्को रुपमा मान्ने गरेको बताए। जाजरकोट, डोल्पा, सल्यान, रुकुम जुम्ला लगायत कर्णाली प्रदेशका सर्वसाधारणले साइक्वारी मन्दिर र ताललाई भारतको काशी क्षेत्रको अर्को रुपको रुपमा हेर्ने गरेको शाहको भनाइ छ।

प्राकृतिक एवम भौगोलिक सुन्दरताको उत्कृष्ट नमुनाको रुपमा रहेको निला अनि मनोरम दृश्य भएका शंखे दह, कुकुर दह, संगुर दह र ठाकुरजी दह मात्र होइन यहाँका तालहरु र पाटनहरुबाट देखिने रुकुमको सिस्ने हिमाल, डोल्पाको कान्जीरुवा हिमाल, जाजरकोटको ५ हजार ४ सय १२ मिटर अग्लो कराइचुली हिमाल अनि मनमोहक कुशे हिमालको सुन्दरता कुनै शब्दमा बयान हुनै नसक्ने छ।

यस्तै साइक्वारी क्षेत्रका देउराली पाटन, द्धारे पाटन, च्याखुरे पाटन र सजवन पाटनको हरियाली मात्र होइन ती पाटनहरुमा लहराउदै उड्ने डाँफे, मुनाल चिरकालीज अनि मात्तिदै उफ्रेर डुल्ने कस्तुरी, मृग, बाघ, भालु अनि विश्वकै दुर्लभ रेडपान्डाको विशिष्ट संसारले त्यहाँ पुग्ने जो कोही पनि लोभिएर फर्किन्छन्। नेपालको अन्य कुनै पनि भुगोलमा नपाइने अनौठो गुण र रुप भएका चराहरु पनि यस क्षेत्रमा पाइने गरेका छन्।

साइक्वारीको मन्दिरमा वर मागेर घर फर्किदा कसैलाइ हेर्न नपाइने धार्मिक विश्वास पनि यहाँको अनौठो विशेषताको रुपमा रहेको छ। वर मागेर फर्किएको कुनै महिला या पुरुषले अरुलाई हेरे अशुभ मानिने स्थानीयहरुमा धार्मिक विश्वास छ।

वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले वारेकोट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि केन्द्र र प्रदेश सरकारले कुनै योजना नदिएको गुनासो गरे। साइक्वारी क्षेत्र वारेकोट र जाजरकोटको मात्र नभइ समग्र कर्णाली प्रदेश तथा देशकै सुन्दर पर्यटकीय क्षेत्र भएकोले यसको प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षमा सात लाख बजेट विनियोजन गरेको बताए। पदमार्ग, पूर्वाधार तथा अन्य कुराको व्यपस्थापन गर्न सके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र हुन सक्ने पर्यटन विज्ञहरु बताउँछन्।





error: Content is protected !!