डलर फेयरले कर्णालीमा कम पर्यटक

काठमाडौँ — आन्तरिक वायुसेवा कम्पनीहरूले विदेशी पर्यटकलाई ‘डलर फेयर’ महँगो हवाई भाडा लिने गरेकै कारण कर्णालीमा विदेशी पर्यटक जान नसकेको सरोकारवालाले बताएका छन् ।

२०२० मा कर्णालीमा पर्यटन विस्तार कसरी गर्ने भन्नेबारे भ्रमण वर्ष २०२० सचिवालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा छलफल कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा सरोकारवालाले विदेशीलाई महँगो हवाई भाडा भएकै कारण काठमाडौं ओर्लिने पर्यटक कर्णाली नजाने गरेको बताए । कर्णाली प्रदेशका सांसद तथा सरोकारवालासँग आयोजित छलफलमा अधिकांशले डलर फेयर र पूर्वाधार नै त्यहाँको पर्यटन विकासमा बाधक रहेको भनेका थिए ।

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटक आएका थिए । यीमध्ये १३ हजार ४ सय मात्रै कर्णालीको हुम्ला, रारा, शेफोक्सुन्डो, डोल्पा पुगेका थिए । यो कुल पर्यटक आगमनको १ प्रतिशत हाराहारी मात्रै हो । कार्यक्रममा नेपालको पर्यटकीय अवस्थाबारे जानकारी गराउँदै बोर्डका वरिष्ठ प्रबन्धक लीला बानियाँले संसारमै नभएको प्रचलन नेपालमा भएको बताए ।

‘नेपालमा विदेशी पर्यटकले झन्डै चार गुणा बढी हवाई भाडा तिर्नुपर्छ,’ उनले भने, ‘आन्तरिक उडानमा भएको यस्तो प्रचलन संसारमा अन्त छैन ।’ विदेशी भएकै कारण वायु सेवा कम्पनीहरूले आन्तरिक रुटमा लिने हवाई भाडा नै कर्णालीमा पर्यटक जाने मुख्य बाधक भएको कर्णाली प्रदेशको भ्रमण वर्ष २०२० का प्रदेश संयोजक राजु कार्कीले बताए । उनले भने, ‘पहिलो कारण महँगो हवाई भाडा दोस्रो कारण पूर्वाधार अभाव देखिन्छ ।’

महँगो हवाई भाडाबारे मन्त्रिपरिषद्मा छलफल भइरहेको वन तथा वातातरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । उनले भने, ‘यस विषयलाई मैले क्याबिनेटको कमिटीमा उठाएको छु । कर्णालीमा पर्यटन विस्तारमा एयर फेयर समस्या भएको छ ।’सन् २०१८ मा कर्णालीमा पुगेका १३ हजार पर्यटकमध्ये १० हजार भारतीय नागरिक मात्रै रहेका छन् ।





error: Content is protected !!