वर्षामा ग्याजेटको सुरक्षा

काठमाडौं । मोबाइल, ट्याब्लेट, ल्यापटप लगायत ग्याजेट अहिले मानवीय जीवनका अभिन्न अंग भएका छन् । सञ्चारबाहेक अध्ययनदेखि मनोरञ्जन तथा दैनिक कार्य सम्पादन गर्न पनि यी उपकरणको प्रयोग हुने गरेको छ । आफ्नो दैनिक दिनचर्याका लागि मानिसहरूले ब्यागमा वा खल्तीमा यी उपकरण बोकेकै हुन्छ ।

स्मार्टफोन वा ट्याब्लेट भिजेमा तिनलाई तत्काल बन्द गर्नुपर्छ । भिजेपछि पनि उपकरण चालू राखेमा पानीका कारण शर्ट हुने सम्भावना रहन्छ । यसो भएमा उपकरण कामै नलाग्ने हुन सक्छ ।

वर्षाको मौसममा पनि यी उपकरण साथमा लिएर हिँड्ने गरिएको छ । वर्षामा महँगो मूल्यमा खरीद गरिएका यी उपकरणमा पानी पसेर बिग्रने सम्भावना उत्तिकै रहन्छ । पानी परेको बेलामा मात्र होइन, वर्षाको बेला हावामा हुने पानीको मात्राले पनि ग्याजेटलाई खराब गर्न सक्छ ।

वर्षाको मौसममा हावामा हुने आद्र्रता र पानीका कारण फोन, ट्याब, ल्यापटप लगायत उपकरणमा खराबी आउन सक्छ । यी उपकरणमा थोरै मात्र पानी पसे पनि क्षति पुग्न सक्छ । तर, केही साधारण उपाय अपनाए आफ्ना उपकरण सुरक्षित राख्दै निश्चिन्त भएर मौसमको मज्जा लिन पनि सकिन्छ ।

मोबाइल फोनका लागि
अहिले अधिकांश फोनका लागि कभर उपलब्ध छन् । फोनको बचाउका दृष्टिकोणले यी कभर निकै उपयोगी हुन्छन् । वर्षाको समयमा तिनको आवश्यकता तथा महत्व अझ बढी हुन्छ । यही विषयलाई ध्यानमा राखी अहिले उपकरण निर्माताहरूले पानी प्रतिरोधात्मक कभर उपलब्ध गराउन थालेका छन् । तिनको प्रयोग गरेर आफ्ना उपकरणलाई सुरक्षित राख्न सकिन्छ । साथै, पानी परेको बेलामा प्लास्टिकका पाउच वा बेलुनको प्रयोग गरेर पनि फोनलाई पानीबाट बचाउन सकिन्छ । बेलुन फुकेर बिस्तारै बीच भागमा फोन राख्दै थिच्दै गयो भने बेलुन फोनको कभर जस्तै बस्ने हुन्छ ।

उदाहरणका लागि आईफोनका लागि बजारमा ‘कपडेस’ नामक छुट्टै कभर केस उपलब्ध छ । सिलिकनबाट निर्मित यो केसले फोनलाई वर्षाको पानीबाट पूर्ण सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । स्मार्टफोनका लागि पनि बजारमा ड्राइकेसहरू जस्तै, भ्याकुम सिल्ड, वाटरप्रुफ क्रिष्टल केसलगायत उपलब्ध छन् । यसबाहेक बजारमा सहजै उपलब्ध हुने स्पन्ज र रबरको कभरलाई पनि सस्तो, तर राम्रो विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ ।

ट्याब्लेटका लागि
वर्षाको मौसम ट्याबको लागि झन् जोखिमयुक्त हुन्छ । ट्याबलाई सजिलै खल्तीमा राख्न सकिँदैन । यसलाई ध्यानमा राख्दै अधिकांश कम्पनीले ट्याब्लेट कभर बनाएका छन् । यी कभर ट्याबलाई पानीबाट बचाउन विशेष उपयोगी हुन्छन् । एप्पलका आइप्याड र सामसङ ग्यालेक्सी ट्याबका लागि बबल सिल्ड प्रो कभर बजारमा सहजै उपलब्ध छन् । अन्य कम्पनीका ट्याबका लागि पनि यस्तै विकल्प बजारमा छन् । तिनको प्रयोग गरी वर्षाको पानीबाट ट्ययाबमा पुग्न सक्ने नोक्सानी रोक्न अथवा कम गर्न सकिन्छ ।

ल्यापटपका लागि
प्राविधिक युगमा घर होस् वा कार्यालय, ल्यापटपविना अधिकांशको दिनचर्या सम्पन्न हुँदैन । तर, वर्षामा भने ल्यापटप बोकेर हिँड्नु जोखिमपूर्ण हुन सक्छ । त्यसैले, वर्षाबाट यसलाई सुरक्षा प्रदान गर्न पानी प्रतिरोधात्मक ब्यागप्याकको प्रयोग गर्नुपर्छ । उदाहरणका लागि, टेरगस रिभोलुशन एक्स्पेडिशन ब्यागप्याकलाई लिन सकिन्छ । तर, यी ब्याग अन्य साधारण ब्यागका तुलनामा केही महँगा हुन्छन् । त्यसैले, सस्तो विकल्पका रूपमा रेनकभर उपलब्ध गरिएका अन्य ब्यागको प्रयोग पनि गर्न सकिन्छ । सकेसम्म ब्यागको तल्लो भाग पानी प्रतिरोधात्मक भए आफ्ना ल्यापटपलाई थप सुरक्षा दिन सकिन्छ ।

ल्यापटप पानीमा भिजे के गर्ने 
आवश्यक सावधानी अपनाउँदा पनि विभिन्न कारणवश उपकरण भिज्ने सम्भावना रहन्छ । यदि ल्यापटप पानीमा भिजे शुरूमा पावर बन्द गर्नुपर्छ । उपकरणको ब्याट्री, एडप्टर, एक्सेसरीज लगायत निकाल्नुपर्छ । यसपछि ल्यापटपलाई उल्टो गरी राख्नुपर्छ । यसो गर्नाले उपकरणमा रहेको पानी त्यसको सर्किटसम्म पुग्न पाउँदैन ।

टिस्यू पेपर, कपास वा नरम रुमालको सहायताले भिजेको ल्यापटपको पानी सुकाउनुपर्छ । पानीले उपकरणको स्क्रीनमा नोक्सान पु¥याउने सम्भावना रहन्छ । त्यसैले, स्क्रीन पुछ्दा हतार नगरी संयम अपनाउनुपर्छ । यसो गरेपछि ल्यापटपको पछिल्लो कभर खोलेर भित्र रहेको पानी बाहिर निकाल्नुपर्छ । राम्ररी पुछेपछि ल्यापटपलाई लो हिट ड्रायर वा घाममा सुकाउनुपर्छ । ल्यापटपमा रहेको चिसोपन हटेपछि ल्यापटपका एक्सेसरीज पुनः जडान गरी परीक्षण गर्नुपर्छ ।

स्मार्टफोन भिजेमा
स्मार्टफोन वा ट्याब्लेट भिजेमा तिनलाई तत्काल बन्द गर्नुपर्छ । भिजेपछि पनि उपकरण चालू राखेमा पानीका कारण शर्ट हुने सम्भावना रहन्छ । यसो भएमा उपकरण कामै नलाग्ने हुन सक्छ । त्यसैले, पानीले भिज्नेबित्तिकै पावर अफ गरी ब्याट्रीलगायत सिमकार्ड, मेमोरी कार्ड आदि हटाइहाल्नुपर्छ । तिनलाई निकालेर टिस्यू वा अन्य नरम कपडाले पुछ्नुपर्छ । उपकरणमा रहेको पानी हटाउन सिलिका जेलमा कम्तीमा २४ घण्टासम्म सुकाउनु राम्रो हुन्छ । यसबाहेक घरेलु उपायको रूपमा चामलमा १–२ घण्टा राखेको खण्डमा पनि मोबाइल बिग्रिने सम्भावना कम हुन्छ । यति गरेपछि भने प्रयोगका लागि उपकरण अन गरी परीक्षण गर्न सकिन्छ ।

फोन उठाउन एयरफोनको प्रयोग गर्ने
पानी परिरहेको बेला कसैको फोन आए सकेसम्म फोन उठाउनु हुँदैन । किनभने, फोन उठाउँदा पानीमा भिजेर फोन खराब हुने सम्भावना रहन्छ । उठाउनैपर्ने भए ब्लूटूथ वा एयरफोनको प्रयोग गर्नु राम्रो हुन्छ । अधिकांश ब्लूटूथ हेडसेट पानी प्रतिरोधात्मक हुन्छन् । यसको प्रयोगबाट पनि ब्याग वा खल्तीमा राखिएको फोन वा ट्याब सुरक्षित राख्न सकिन्छ ।





error: Content is protected !!