हुम्लाका दलित र विपन्नलाई तालिम दिन बजेट , हाकिम र मन्त्रीका पिएले सिलाए कोट

सिलाइकटाइ तालिम । प्रशिक्षार्थीले कपडा र कैँची छुनै नपाई समापन

नरजन तामाङ हुम्ला

विपन्नलाई सिलाइकटाइ तालिम दिन घरेलु कार्यालयले कपडा किनेको थियो, सुर्खेतबाट प्रशिक्षक पनि मगाइएका थिए, डिएसपीदेखि सिडिओसम्मले लाइन लागेर नाप दिए, प्रशिक्षकले धमाधम उनीहरूका लागि कोट सिलाए । कपडा पनि सकियो, तालिम पनि सकियो ।
हुम्लाका दलित तथा विपन्नलाई सिलाइकटाइ तालिमका लागि प्रदेश सरकारबाट आएको बजेट जिल्लाका उच्चपदस्थ व्यक्तिलाई कोट सिलाएर सकिएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष ०७५र७६ को नियमित कार्यक्रमका लागि आएको बजेटले जिल्लाका हाकिमदेखि मन्त्रीका पिएसम्मलाई कोट सिलाइएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले विभिन्न गाउँपालिकाका दलित र विपन्नलाई १५ जेठदेखि २९ असारसम्म सिमकोटमा सिलाइकटाइ तालिम सञ्चालन गरेको थियो । तालिममै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी प्रमुखदेखि गाउँपालिका अध्यक्षसम्मलाई कोट सिलाइएको छ । ‘उद्यमशीलता विकास तथा एड्भान्स सिलाइकटाई तालिम’का लागि ल्याइएको कपडाले कोट सिलाइएको हो । प्रशिक्षार्थीहरूलाई तालिम दिन सुर्खेतबाट झिकाइएका प्रशिक्षक नै बरिष्ठहरूको कोट सिलाएर फर्किएका छन् ।

तालिममा सहभागी सिमकोट–२ ठेहेकी लछु भण्डारीले प्रशिक्षक नै हाकिमहरूको कोट सिलाउन व्यस्त हुँदा आफूहरूले सिक्न नपाएको गुनासो गरिन् । कोट सिलाउनुपर्दा तालिम सिक्नै नपाएको उनको गुनासो छ । ‘जिल्लाका सबै ठूलाबडाले आफूलाई राम्रो कोट सिलाईदिन भनेपछि तालिमका प्रशिक्षकले आफूहरूलाई सिकाउनभन्दा बढी ध्यान भिआइपीकै कोट सिलाउनमा लगाए,’ उनले भने ।

तालिमका लागि ल्याइएको राम्रो कपडा छानेर पदअनुसारको कोट बनाइएको छ । आफूले कोट पाइन्ट सिलाउन सिक्न आएको बताएका तालिमका सहभागीले आफूहरूले पाउने सुविधाबाट उच्च पदस्थ व्यक्तिलाई कोट दिन नहुने बताए । सरकारी तलब खाने र सरकारबाटै डे«स पाउने व्यक्तिले यसरी पद र पावरको दुरुपयोग गरेर कोट सिलाउन लगाउनु अख्तियार दुरुपयोग भएको सहभागी मानबहादुर परियारले बताए ।

घरेलु कार्यालयले भने यसलाई सामान्य रूपमा लिएको छ । अनुगमनमा गएका वेला उच्च पदस्थ व्यक्तिहरूको नाप लिएको बताउँदै घरेलु कार्यालयका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले भने, ‘हामीले अरू केही सोचेनाँै तालिम अनुगमनमा आएका हाकिमहरूले खोई कस्तो बन्ने रहेछ, हेरौँ भन्दै नाप दिएपछि बाध्य भएर कोट तयार पारिएको हो ।’

तालिमको समापनसँग सबै उच्च पदस्थलाई सिलाइएका कोट हस्तान्तरण गर्ने कार्यक्रम भए पनि सञ्चारकर्मीले चासो राखेपछि समापनको दिन वितरण गरिएको छैन । भिआइपीहरूको नापमा तयार पारिएका कोट अहिले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय नजिकैको कोठामा नाम लेखेरै झुन्ड्याइएका छन् ।

बजेट दुरुपयोग भएको भन्दै सहभागीको विरोध  पत्रकारले पनि सूचना पाएपछि कोट वितरण हुन सकेन

कोट सिलाउने सिडिओ र डिएसपीदेखि नेतासम्मको नामावली
घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले तालिम अनुगमनमा आएका हाकिमहरूले ‘खोइ कस्तो बन्नेरहेछ, हेरौँ’ भन्दै नाप दिएपछि बाध्य भएर कोट सिलाउनुपरेको बताए । विपन्नका लागि तालिम दिन आएको कपडाबाट कोट सिलाउने हाकिमहरू स् सिडिओ धोलकराज ढकाल, सहायक सिडिओ महेशकुमार पोखरेलले, डिएसपी रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव चौधरी, कोष तथा लेखानियन्त्रक राजन रेग्मी, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, समन्वय अधिकारी रामप्रसाद अधिकारी, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, कांग्रेसका जिल्ला सभापति जयपति रोकाया, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायाको नापमा कोट तयार गरिएको छ । जिल्ला युवा परिषद्का अध्यक्ष कमल बोहरा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहरा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष पर्वत सुनारलाई पनि तालिमबाटै कोट तयार गरिएको घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले पुष्टि गरेको छ । समापनको दिन उनीहरूलाई कोट वितरण गर्ने तयारी थियो । तर, यो विषयमा सञ्चारकर्मीले सोधखोज गरेपछि कोट वितरण हुन सकेन ।





error: Content is protected !!