टाइफाइड बिरामी बढे , नियन्त्रण का लागि पहल जारी

सुकमाया थापा

डोल्पा : जिल्ला अस्पताल डोल्पामा टाइफाइडका बिरामी बढेपछि जिल्ला प्रशासनमा आपतकालिन बैठक बसेको छ। एक्कासी टाइफाइडका बिरामीले अस्पतालका बेड भरिभराउ भएर भुईँमै राखेर उपचार गर्नुपर्ने भएपछि जिल्ला प्रशासनमा दोस्रो पटक आपतकालिन बैठक बसेको हो।

एक महिनामा मात्रै टाइफाइडका तीस जनाभन्दा धेरै बिरामीहरु भर्ना भएका छन् । पन्ध्र सैयाको अस्पतालमा थप आवश्यक सामाग्री नभएको अवस्थामा बिरामी बढेपछि व्यवस्थापन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको निमित्त जिल्ला अस्पताल प्रमुख सिजन रावलले जानकारी दिए।

जिल्ला प्रशासनमा आपतकालिन बैठक बसेर बिरामीको चापलाई मध्यजनर गर्दै ठूलीभेरी नगरपालिकाले तत्काल १० वटा बिरामी राख्ने म्याट्रिस, सिरानी र बल्याङकेट खरिद गरिदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। उनकाअनुसार दुनै खानेपानी उपभोक्ता समितिले पानीको मुहानमा पोटास राख्ने, उद्योग वाणिज्य संघले ५ सय थान पियुस किनिदिने र स्वास्थ्य कार्यालयले घरदैलो कार्यक्रम गरेर स्थानीयलाई निशुल्क वितरण गरिनेछ।

त्यसैगरी प्रदेश सरकारलाई आवश्यक औषधिसहित दक्ष चिकित्सक जिल्ला अस्पतालमा खटाइदिन अनुरोध गर्ने निर्णयहरु भएको छ।

अस्पतालमा बिरामी दैनिक बढिरहेकाले उपचार गर्न भुइँमा राखेर उपचार गराउन थालिएकाले सबै निकायमा सहयोग मागेको निमित्त जिल्ला अस्पताल प्रमुख रावलले बताए । पन्ध्र शैय्याको क्षमता भएको अस्पतालमा २१ जनाभन्दा धेरै बिरामी भर्ना भएपछि भुइँमा राखेरै उपचार गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए।
असारको तेस्रो सातासम्ममा टाइफाइडका २५ जना बिरामी अस्पताल आएको रावलले जानकारी दिए।

दरबन्दी अनुसार कर्मचारी नहुँदा जनशक्ति अभाव भएकाले स्थानीयतहबाट भएपनि काजमा पठाइदिन आग्रह गरेको डाक्टर रावलले जानकारी दिए । जिल्ला अस्पतालमा टाइफाइडका बिरामी बढेपछि जिल्लामा महामारी फैलन सक्ने खतरा बढ्न लागेको भन्दै प्रमुख जिल्ला अधिकारीले बैठक राखेर रोग नियन्त्रणमा लाग्न सबैलाइ निर्देशन दिएका हुन्।





error: Content is protected !!