फोक्सुण्डो तालमा लेखकहरुको जमघट

डोल्पा–साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्।

उनीहरु सुलिगाडबाट तीन दिन पदयात्रा गरेर असार १२ गते तालमा पुगेका थिए। उनीहरुले फोक्सुण्डो झरना, गुम्बा, रिंग्मो गाउँ, पुग्मो गाउँ र ताल अध्ययन गरे। लोकसंस्कृति विकासमा योगदान पुर्याउँदै आएका चार जना स्थानीय कलाकारलाई ताल किनारमा कन्सेप्ट नेपालले सम्मान गरेको थियो।

सम्मानित हुनेहरुमा टुङ्नाबादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकाया छन्। उनीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो।

यात्राका संयोजक अमृत भादगाउँलेका अनुसार उनीहरुको छनोट शिक्षासेवी सेम्दुक लामाले गरेका थिए। कार्यक्रममा थासुङ छोलिङ गुम्बाका प्रमुख लामा खेन्पो सेम्दुक निमा, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामा, धार्मिक गुरु लोटेइ लामा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष फूर्वा तेन्जिङ बुढाले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए। साथै आयोजक संस्थाका सदस्य देवेन्द्र बस्न्यातले खादा लगाएर सम्मान गरे।

कार्यक्रममा पदयात्री कविहरुले आ–आफ्ना कविता सुनाए। ३६३९ मिटर उचाईको ताल किनारमा रचना सुनाउन पाउँदा उनीहरु गद्गद भए भने श्रोताहरु पनि खुसी भएका थिए। त्यस अबसरमा कलाकार कृष्णबहादुर नेपालीले बनाएको तालको चित्र पनि प्रदर्शन गरियो।

यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, बिष्णु प्रसाद देवकोटा, सेम्दुक लामा र अमृत भादगाउँले छन्।

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो। त्यस्तै सहयोगीहरूमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिसन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र ट्रितेन नोर्बुचे बोन्पो गुम्बा लगायत छन्।





error: Content is protected !!