मासु खाएर हुर्किन्छन् यी अचम्मका मांसहारी बिरूवा

एजेन्सी ः जनावरले बिरुवा खान्छन्, यो स्वाभाविक कुरा हो । जनावरको आहारा नै बिरुवा हो । कतिपय जनावरहरु मांसाहारी अर्थात मासु खाने हुन्छन् । यो पनि हामीलाई स्वाभाविक नै लाग्छ, तर विरुवाले किरा वा मासु खान्छन् भन्दा अनौठो लाग्ने गर्दछ ।

तर यथार्थमा केही विरुवाहरु मांसहारी नै हुन्छन् र तिनले कीरा वा मासु खाएर नै आफ्नो जीवन धान्ने गर्दछन् । ती विरुवाको वृत्तिविकास नै कीरा वा मासु खाएर हुन्छ । यस्ता बिरुवाहरु उच्च पहाडी इलाका र आद्र्र तथा घना जंगलका बीचमा पाइन्छन् ।

यस्ता विरुवाहरुलाई उनीहरुको प्रजातीय गुणका आधारमा मांस भोजन आवश्यकता पर्ने गर्दछ । ती विरुवाहरुमा अन्य विरुवाहरुमा नहुने एक भिन्न किसिमको रसायन पाइन्छ ।

त्यो रसायनको आवश्यकता पूर्तिका लागि ती विरुवाहरुलाई मासु आवश्यक पर्दछ । सोको आपूर्तिका लागि तिनीहरुमा फूल्ने फूल नै मांसआहार प्राप्तिको माध्यम बन्न पुगेका हुन्छन् । मांसआहारबाट ती विरुवाले बढ्नका लागि आवश्यक तत्व र प्रजननका लागि शक्ति प्राप्त गर्दछन् ।

अन्य विरुवाले जमीनबाट प्राप्त गर्ने खनिज र पानी, सूर्यबाट प्राप्त गर्ने शक्ति, वायुबाट प्राप्त गर्ने अक्सिजन र कार्वनडायोक्साइड जस्तै यी विरुवालाई ती सबै कुराको आवश्यकता छ । तर यस अतिरिक्त मांसहारी विरुवालाई मांस भोजन पनि जरुरी हुन जान्छ । यसैका परिपूर्तिका लागि ती विरुवाले कीराफट्यांग्रा, मुसा तथा ससाना चराहरु र सर्पहरुसमेत् खाने गर्दछन् ।

कीराफट्यांग्रा तथा चरा वा मुसा खानका लागि यी विरुवाको भने जनावरको जस्तो मुख हुँदैन । दाँत र भोजननली पनि हुँदैन । तर यिनीहरुमा फूलेका फूलहरुमा कीराफट्यांग्रा वा चरामुसा आएको चाल पाउने अति संवेदनशील अनुभूति गर्नसक्ने क्षमता हुन्छ ।

आएका कीरा वा चरामुसाले यी विरुवामा फुलेका फूलहरुमा चिप्किएर रहने गुलियो मह वा रस जब चाट्न वा खान थाल्छन्, विरुवाको फूल क्रमशः खुम्चिदै आएर फूलको वरपर हरेका चिप्किने रससहित एक्कासी च्याप्प समाउन पुग्दछ । यति बेलासम्म फूलभित्र परेका यी कीराहरु ती विरुवाको आहारा बनिसकेको हुन्छ ।
विरुवाले कीरा वा चरा समातीसकेपछि समातिएको आहारा पूर्णरुपमा नपच्दासम्म खुल्दैनन् । जब समातिएको आहारा पचिसक्छ, तब ती फूलहरु फेरि खुल्न र फूलेको जस्तै फक्रन थाल्दछन् ।

मासु पचाउँदै गर्दा यी विरुवाले आफूहरुलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, एसिड र हार्मोनहरु प्राप्त गर्दछन् । विरुवाका कीरा पचाउने यी फूलहरु ‘केमिकल फ्याक्ट्री’ जस्तै हुन् । यी केमिकल फ्याक्ट्रीबाट नाइट्रोजन, फस्फरस र पोटासियमका साथै आइरन र अन्य तत्वहरुको आपूर्ति हुन्छ ।

क्यानडामा यस्ताखाले १८ प्र्रजातिका विरुवाहरु पाइन्छन् । सर्रासेनिया, पर्पुरिया आदि निकै जानकारीमा आएका मांसहारी विरुवाहरु हुन् । यी क्यानडामा निकै नै पाइन्छन् । यी विरुवाहरु २५ सेन्टीमिटरसम्म अग्ला हुन्छन् ।

यस्ता विरुवाहरु सरदर मानिसको सरह जीवन जिउँछन् । यी विरुवाहरु कम्तिमा ५० वर्षसम्म बाँच्ने गर्दछन् । यी मांसहारी विरुवाहरुको हरिया पातमा कालाकाला तर झट्ट हेर्दा राता देखिने नसाहरु हुन्छन् ।

यी विरुवाका पातको वरपर जुँघा जस्ता चिप्किने खालका रेसाहरु रहेका हुन्छन् । यी रेशाहरुले झिंगा, माहुरी, कीरा र मुसाहरु भागेर बाहिर जानबाट रोक्दछन् र आफ्नो जालमा फसाउँछन् ।

पात र फूलहरुमा विस्तारै चिप्किने तर यसको भित्री भागमा खसेपछि त्यहाँ रहेको तरल पदार्थमा घुलेर आहारामा परिणत हुने खालको विशेषता हुन्छ । ससाना छेपारा र भ्यागुतासम्म यसका आहारा हुने गर्दछन् ।

यस्ता विरुवाहरुको अध्यनबाट के कुरा पत्ता लाग्छ भने करोडौं वर्ष पहिले वनस्पति तथा जीवको उत्पत्ति हुने र विरुवाबाट जनावरमा संक्रमणको एक अवस्थामा शायद यी विरुवाहरु थिए होलान् ।

यी विरुवा अरु विरुवाहरु जस्तै परिवर्तन हुन र खास विरुवाको स्वरुप र सार ग्रहण गर्न नसक्दा शायद उही मांसहारी अस्तित्वमा रहिरहे । यी देख्दा विरुवा तर मांस भोजन गर्ने मांसहारीका रुपमा रहे । आज पनि यिनको अस्तित्व रहनु खोज तथा अनुसन्धानका लागि धेरै महत्वपूर्ण आधार हुन् ।

नेपालमा पाइने यार्सागुम्वा आफैमा मांसहारी विरुवा त होइन, तर यो अर्ध जीव र अर्ध विरुवा भने हो । यार्सा टिप्न जाँदा पनि जीउँदो यार्सा र मृत यार्साको रुपमा परिभाषित गरिन्छ । जीउँदो टिपेको यार्साको मूल्य र मरेको यार्साको मूल्यमा धेरै फरक हुन्छ ।