जहाज नआएपछि विमानस्थलमा बिस्कुन

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजहारी विमानस्थल बन्द भएको छ । एक महिनादेखि उडान तथा अवतरण नभएपछि विमानस्थलमा बिस्कुन सुकाउन थालिएको हो ।

यसअघि १ वर्ष ५ महिना बन्द रहेको थियो । वैशाख तेस्रो सातादेखि उडान भएका छैनन् । बन्द हुनुको कारण भने नेपाल नागरिक उड्डयन प्राधिकरण, चौरजहारी कार्यालयलाई पनि जानकारी छैन । तर, जहाज अपुग हुँदा चौरजहारी उडान बन्द गरिएको जनाएको छ । ‘केन्द्रबाट एक महिनाका लागि विमान नआउने जानकारी आएको थियो । के कारणले विमान नआउने हो भन्ने जानकारी छैन,’ प्राधिकरण चौरजहारी कार्यालयका वरिष्ठ अधिकृत सुगत मानन्धरले भने ।

प्राधिकरण केन्द्रले २० वैशाखमा चौरजहारी कार्यालयलाई एक महिना जहाज नआउने जानकारी गराएको थियो । अब कहिले सञ्चालनमा आउने भन्ने पनि जानकारी नभएको मानन्धरले बताए । नेपाल एयरलाइन्सका जहाजले लुक्ला उडान गर्नुपर्ने भएकाले चौरजहारीको उडान रोकिएको जनाएको छ । जहाज आउन छाडेपछि विमानस्थलमै बिस्कुन सुकाउन थालिएको छ । स्थानीय बासिन्दाले नभएर सुरक्षाकर्मीले नै सुकाएकोले तत्कालै हटाउन लागिएको मानन्धरको भनाइ छ ।

रुकुम, सल्यान र जाजरकोटलाई लक्षित गरी ०२८ मा स्थापना भएको चौरजहारी विमानस्थलमा ४४ वर्ष कच्ची धावनमार्गमै सञ्चालन भएको थियो । साढे दुई वर्ष लगाएर ०७३ भदौमा कालोपत्रे गरिएको थियो । त्यही असोजदेखि सञ्चालनमा आएको विमास्थल फेरि बन्द भएको हो ।





error: Content is protected !!