बिग्रेको बारुदबाट रकेट

चारैतिर दीपावलीको उल्लास थियो । सबै दीपावली मनाउने भव्य तयारीमा जुटिरहेका थिए । त्यही समयमा एक मुस्लिम बालक पनि हिन्दूको यो उल्लासपूर्ण चाड मनाउन चाहन्थे । तर, उनको परिवार अत्यन्त गरिब थियो । जसले गर्दा उनलाई आफ्नो बालसुलभ रहर पूरा गर्न कठिन थियो ।

उनी आफ्नो पढाइ खर्च जुटाउनै पनि पत्रपत्रिका बेच्ने गर्थे । आफ्नो पढाइ खर्च कटाएर बचेको पैसा उनी गरिब बुबाआमालाई दिने गर्थे । त्यसैले, उनीसित खासै पैसा हुँदैनथ्यो । बुबाआमाबाट पाउन सक्ने अवस्था पनि थिएन । उनी बाबुआमासित पैसा मागेर उनीहरूलाई दुःखी बनाउन पनि चाहँदैनथे । तर, त्यस दिन उनले पत्रिका बेचेर अरू दिनको भन्दा पाँच पैसा बढी कमाए । उनी त्यही पाँच पैसा लिएर रकेट पसलमा पुगे । र, पसलेलाई पाँच पैसा देखाउँदै आफूलाई एउटा रकेट दिन अनुरोध गरे । तर, पाँच पैसामा रकेट आउँदैन भनेर पसेलेले उनको कुरा सुन्नसमेत चाहेनन् ।

पसलेको व्यवहार देखेर बालक निराश भए । तैपनि, उनले पसलेसित भने– ठिकै छ, पाँच पैसामा रकेट आउँदैन भने मलाई यसको बिग्रेका पटाका नै दिनोस् । छक्क पर्दै पसलेले सोधे– बिग्रेका पटाका लिएर के गर्छौ रु के काम लाग्छ त्यो रु बालकले आत्मविश्वाससाथ जवाफ दिए– त्यसबाट म रकेट बनाउँछु ।

पसलेले पाँच पैसामा बिग्रेका टन्नै पटाका दिए । बालक पनि खुसी हुँदै पटाकाको पोको बोकेर घरतिर लागे । उनले दिनभर परिश्रम गरेर एउटा शक्तिशाली रकेट बनाए । साँझको दीपावलीमा उनको गाउँको मुस्लिम टोलबाट गगनभेदी रकेट तिनै बालकका आँगनबाट मात्र उड्यो । उनको रकेटले पार गरेको दूरी देख्नेजति सबै छक्क परेका थिए । तिनै बालक पछि गएर भारतमा ‘मिसाइल म्यान’का रूपमा चर्चित भए । पछि तिनै बालक भारतका राष्ट्रपति पनि बन्न सफल भए । ती बालकको नाम थियो– एपिजे अब्दुल कलाम ।