प्रविधिले बढाउँदै छ टेक्स्ट नेक समस्या

आजकलका अधिकांश मानिसमा प्रविधिमोह बढ्दो छ । कामको सिलसिलामा होस् या लतका कारण धेरै मानिस घन्टौँसम्म मोबाइल, ल्यापटप वा कम्प्युटरमा बिताउँछन् । प्रविधि प्रयोग अत्यधिक गर्नेमध्ये अधिकांश युवा छन् । मोबाइल, ल्यापटप कम्प्युटर आदिमा लामो समयसम्म बिताउने मानिसको काँध र पिठ्युको मांसपेशी झुक्ने गर्छ । जसका कारण शरीरका विभिन्न भागमा दुखाइ उत्पन्न हुन्छ । जसलाई टेक्स्ट नेक टेक्स्ट सिन्ड्रोम भनिन्छ ।

लक्षण

मानिस सामान्य अवस्थामा रहँदा मांसपेशीहरू सीधा रहन्छन् । जसले गर्दा मांसपेशीमा भार पार्दैन । तर, निहुरिएर काम गर्दा टाउकोको भार गर्दन र मेरुदण्डमा पर्ने भएकाले मांसपेशीमा असर देखिन थाल्छ ।
सुरु–सुरुमा काँध र गर्दनमा सामान्य दुखाइ महसुस हुन्छ । तर, लगातारको अनियमित बसाइले दुखाइ बढ्दै जान्छ । लगातार निहुरिएर काम गर्दा मांसपेशी कमजोर हुन्छ र गर्दन दुख्छ ।
गर्दनको मांसपेशीको रेसामा स–साना चिरा पर्छन् । आरामको कमीले चिरामा जालो पर्न सक्छ । जसले गर्दा छालामा गिर्खा देखा पर्न थाल्छन् । ती पछिसम्म दुखिरहने हुन्छन् ।
निरन्तरको झुकाइले ढाड र गर्दनको मांसपेशीमा बारम्बार भार पर्दा हड्डीको समस्या बढ्न थाल्छ । सुरुमा टाउकोपछाडिको तल्लो भाग र काँधमा दुखाइ उत्पन्न हुन्छ । बिस्तारै मेरुदण्डमा पनि असर पर्न थाल्छ । लगातार गर्दनको दुखाइ भए कतिपय अवस्थामा ढाडको हड्डीमा सीधा असर पर्न गई त्यो यथास्थानबाट पर सर्न सक्छ, जसले गर्दा शरीरमा झनै बढी दुखाइ हुन सक्छ ।
कतिपय अवस्थामा अत्यधिक भार सहन नसकी मेरुदण्डका हड्डी छिटो खिइने र अरू हड्डी पलाएर नसा च्यापिने समस्या आउन सक्छ ।
उपचार

मोबाइल, ल्यापटप र कम्युटरको प्रयोगविना काम गर्न असम्भवजस्तै भइसकेको अहिलेको अवस्थामा यस्ता प्रविधिको कम प्रयोग नै यसको उपचार हो । तर, समस्या देखिइसकेपछिको अवस्थामा औषधि प्रयोग र फिजियोथेरापीको माध्यमले प्रारम्भिक उपचार गर्न सकिन्छ ।
हड्डीको समस्या धेरै नै बल्झिएको अवस्थामा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । औषधि प्रयोग र फिजियोथेरापी गरेपछि रोग पूर्ण रूपमा निको भएको भ्रम कतिपयमा छ । यद्यपि, यस्तो उपचारपछि पनि समस्या पटक–पटक दोहोरिने सम्भावना बढी हुन्छ । फलस्वरूप बिरामीले लगातार उपचारका लागि चिकित्सककहाँ गइरहनुपर्ने अवस्था सिर्जना हुन्छ ।





error: Content is protected !!