समृद्धिको शर्तः स्वच्छ वायु, स्वस्थ जीवन वातावरणमन्त्री -बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बढ्दो शहरीकरणसँगै प्रदूषण बढेकाले समृद्धिको शर्तका रुपमा ‘स्वच्छ वायु, स्वस्थ जीवन’को नारा अघि सारिएको बताउनुभएको छ ।

यस वर्षको सप्ताहव्यापी विश्व वातावरण दिवस समापन समारोहमा उहाँले स्वच्छ वायुमा बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“प्रदूषकलाई जिम्मेवार बनाउने संविधानको सिद्धान्तमा ध्यान दिएर अबका कार्यक्रम बन्नुपर्छ, वातावरण संरक्षणलाई अभियानको रुप दिई एकीकृत पहल थालिनुपर्छ, फोहर व्यवस्थापनमा जनसहभागिता बढाइनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । सांसद शान्तिमाया पाख्रिनले वातावरण सफा र स्वच्छ बनाउन सामूहिक रुपमा लाग्नुपर्ने बताउनुभयो । हिमाल पग्लने, झरना र मूलका पानी सुक्ने जस्ता वातावरणीय समस्या समाधानका लागि समन्वयात्मक कार्यक्रम जरुरी रहेको उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव विश्वनाथ ओलीले नेपालगञ्जमा सम्पन्न वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी गोष्ठीले जारी गरेको १७ बुँदे घोषणापत्रका आधारमा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने विश्वास व्यक्त गर्नुभयो । “पहिलोपटक वातावरण नीति मन्त्रिपरिषद्मा पेश गरिएको छ, वातावरण संरक्षण ऐनमा गरिएको संशोधनसम्बन्धी विधेयक संसदीय समितिमा दफावार छलफलका क्रममा छ, नीतिगत र कानूनी पक्ष बलियो बनाइ वातावरणीय क्षेत्रमा सुधारको प्रयास गरिनेछ”, उहाँले भन्नुभयो ।

मन्त्रालयले ‘एक नागरिक, एक फलफूलको बिरुवा रोपण’ कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा घोषणा गरिएको छ । आगामी असार १४ गते वृक्षरोपण महोत्सवका रुपमा मनाउन लागिएको छ । सो अवसरमा वातावरण विज्ञ भूषण तुलाधरले नेपालगञ्ज घोषणापत्रलाई कागजमा मात्र सीमित नगरी कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

लुम्बिनीमा प्रदूषण नियन्त्रणका लागि गुरुयोजना बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अधिवक्ता पद्मबहादुर श्रेष्ठलाई यस वर्षको वातावरण संरक्षण पुरस्कार, मनोजकुमार गुप्तालाई जलवायु व्यवस्थापन पुरस्कार र पत्रकार प्रगति ढकाललाई वातावरण संरक्षण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा वातावरण विभागले प्रकाशन गरेको जर्नलको पाँचौँ अङ्क र कञ्चनजङ्घा संरक्षण समूहको पुस्तक मन्त्री बस्नेतले सार्वजनिक गर्नुभएको थियो ।





error: Content is protected !!