पञ्चायतमा सुरु भएको योजना गणतन्त्रमै पुरा भएन्

जाजरकोट , २५ जेठ ः एउटा योजना निर्माण गर्न कति समय लाग्ला ?, ५ वर्ष , १० वर्ष तर यहाँ एक योजना निर्माण गर्न ४० वर्ष पुरा भएपनि पुरा हुँन् सकेको छैन् ।
बारेकोट गाउँपालिकाको नायकबाडा सिंचाई योजनाको निर्माण कार्य पञ्चायतकालमै सुरु भएपनि अहिले सम्म निर्माण हुँन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भएपनि नायकबाडा सिंचाई योजनाको निर्माण कार्य पुरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटबासीका सपना अधुरै रहेका छन् ।
उक्त सिंचाई योजना पुरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडा घाट खाद्य डिपोको भरमा बारेकोटबासीले जीवन निर्वाह गर्न बाध्य छन् । पञ्चायतकालमा निर्माण कार्य शुरु गरेको उक्त योजना हालसम्म पुरा हुन सकेको छैन । बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरवाहीले उक्त योजना अलपत्र परेको हो ।
तत्कालीन नायकबाडा पञ्चायत वडानं–.१, ३, ६ र ७ को खेतीयोग्य जमिनमा सिंचाई गर्ने उदेश्यले योजनाको निर्माण शुरु भएको थियो । तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माण कार्य शुरु भएको थियो । सदस्य सिंह सोही पञ्चायत वडानं–४ का बासिन्दा थिए । नायकबाडा सिंचाई योजना निर्माणको क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउपालिका–५ का अध्यक्ष अजबीर सिंहले बताउनुभयो ।
तत्कालीन जिल्ला विकास समिति, सिंचाई कार्यालय लगायत निकायबाट २÷३ बर्षको अवधीमा टेण्डर हुने र निर्माण व्यवसायी बदलिने तर, निर्माण कार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उहाँले बताउनुभयो । अध्यक्ष सिंहले भन्नुभयो , “बारेकोट गाउँपालिका–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउ, साउबाडा, भैलोखान, तोलखान, घाट लगायतका स्थानको २ सय हेक्टर खेती योग्य जमिनमा सिंचाई गर्ने योजनाको लक्ष्य रहेको थियो ।”
योजनाको ६ किलोमीटर लम्बाई कुलो मध्ये ६० प्रतिशत ट्याक ओपन कार्य पुरा भैसकेको छ । कुलोको बीच , बीचमा निर्माण नहुँदा समस्य उत्पन्न भएको छ । ३५–४० बर्षको अवधीमा उक्त योजनामा १२ करोड भन्दा बढी खर्च भैसकेको छ । समयमा कुलो निर्माण नहुँदा बारेकोट गाउँपालिका –४ र ५ नं वडाका बासिन्दाको खेतीयोग्य जमिन बाँझो हुने गरेको छ । सिचाई अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्युन भई बर्षेनी खाद्य अभाव हुने गरेको छ । करोडौं बजेट खर्च भएको ४० बर्ष पुरानो योजनाको १२,१५ प्रतिशत मात्र प्रगति भएको अध्यक्ष सिंहको भनाई छ ।
सिंचाई विकास डिभिजन कार्यालय जाजरकोटले पनि नायकबाडा सिंचाई योजनाका लागि आर्थिक बर्ष २०७३÷०७४ देखि हालसम्म १ करोड खर्च गरि सकेको छ । तर, कामको उपलब्धी देखिएको छैन । डिभिजन कार्यालयले ६ किलोमीटर लम्बाई कुलो ५ करोड ४८ लाख लागतमा निर्माण गरी १ सय २० हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । जसअनुसार उक्त कुलोको निर्माणका लागि कार्यालयले २ करोड ५९ लाख लागतमा टेण्डर सम्झौता गरको समय दुई बर्ष वितिसकेको छ । कार्यालयले कुलो निर्माण कार्यका लागि काश्यप निर्माण सेवा एण्ड सप्लायर्ससँग सम्झौता गरेको थियो । कार्यालयले उक्त निर्माण सेवा एण्ड सप्लायर्सलाई ३० लाख पेश्की रकम दिलाएको थियो ।
उक्त निर्माण सेवा एण्ड सप्लायर्सले गत आर्थिक बर्षमा योजनाको बाध स्थलको कार्य मात्र गरेको छ । त्यस्तै योजनाको उपभोक्ता समितिले गत आर्थिक बर्षसम्म ४५ लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । तर, निर्माण स्थलमा देखिने खालको कार्य प्रगति भएको पाइदैन । बजेट अभावमा उक्त योजनाको निर्माण कार्यले गति लिन नसकेको कार्यालयका निमित्त डिभिजन प्रमुख रामचन्द्र साह बताउनुभयो ।
चालु आर्थिक बर्ष नायकबाडा सिंचाई योजनाको लागि ४ करोड ८८ लाख बजेट माग गरेकोमा ८ लाख मात्र निकासा आएको प्रमुख साहले बताउनुभयो । चालु आर्थिक बर्षको असारमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने नायकबाडा सिंचाई योजनामा थप बजेट नआउदा समस्या भएको उहाँले बताउनुभयो । हालसम्म योजनाको १२ प्रतिशत मात्र प्रगति भएको उहाँले जानकारी दिनुभयो ।
बजेट अभावमा जिल्लाका डेढ् दर्जन सिंचाई योजना अलपत्र परेका छन् । बजेट अभावमा बारेकोट गाउँपालिका–२ र ३ मा पर्ने नौफेरी सिंचाई योजना, भेरी नगरपालिकाको भुरचौर सिंचाई, कुदु, रिम्ना सिंचाई लगायत योजना अलपत्र परेका हुन् । ८ करोड १० लाख लागतको नौफेरी सिचाइ योजनामा यसबर्ष शुन्य बजेट भएको निमित्त प्रमुख साहले बताउनुभयो । ३ करोड लागतको योजनामा ३ लाख मात्र निकासा आउने गर्दा सिंचाई योजना अलपत्र पर्ने गरेको उहाँको भनाई छ । “जिल्लाभरका सिंचाई योजनाको ५०÷६० करोड लागत छ, संघीय तथा प्रदेश सरकारबाट ५ करोड ६० लाख बजेट छट्टीएको छ ।’ साहले भन्नुभयोे । सिंचाई योजना निर्माण नहुदा जिल्ला भित्र विभिन्न ठाउँका खेती योग्य जमिन बाँझो रहने गरेको छ ।





error: Content is protected !!