यी हुन् गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

गर्भावस्था महिलाका लागि विशेष समय हो । गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे ध्यान पु(याउनुपर्छ । त्यसैले, यो अवस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिन आवश्यक छ । आमाको जीवनशैलीले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्छ । त्यसैले, गर्भावस्थामा निम्न कुरामा ध्यान पुयाऔँ ।

नियमित स्वास्थ्य परीक्षण

गर्भ रहेको पहिलो र दोस्रो तीन महिनामा एक–एकपटक तथा तेस्रो तीन महिनामा कम्तीमा दुईपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । अर्थात् गर्भावस्थाभरिमा कम्तीमा चारपटक जचाउँदा कुनै पनि समयमा आउन सक्ने जटिलताबाट बच्न सकिन्छ ।
गर्भ रहेको चार महिनापछि धनुष्टंकार ९टिटानस० र डिप्थिरियाबाट बचाउन प्रत्येक डेढ महिनाको फरकमा कम्तीमा दुईपटक खोप अनिवार्य लगाउनुपर्छ । यो वेला रक्तअल्पता र क्याल्सियमको कमी भइरहने भएकाले समय–समयमा परीक्षण गर्नुपर्छ ।
पहिलेदेखि नै उच्च रक्तचाप भएका महिलामा गर्भावस्थामा झनै त्यसको जोखिम हुन्छ । साथै, गर्भमा जुम्ल्याहा बच्चा भएमा पनि यस्तो जोखिम हुन्छ । यसबाट बच्न प्रत्येक दिन एक ग्राम क्याल्सियम खुवाउनुपर्छ । दोस्रो बच्चा जन्माउन लागेका महिलालाई ७५ मिलिग्राम एस्प्रिन दिइन्छ । नियमित रगत र पिसाब
जाँच गर्नुपर्छ ।
खानपानमा ख्याल

गर्भमा रहेको शिशु पूर्णतया आमामै निर्भर रहने भएकाले यस्तो वेला गर्भवतीलाई बढी पौष्टिक आहारको आवश्यकता हुन्छ । क्याल्सियम, प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेटलगायत पौष्टिक तत्व भएका खानेकुरा नियमित सेवन गर्नुपर्छ । शरीरलाई आवश्यक शक्तिको पूर्ति गर्न गर्भवती महिलाले दैनिक तीन सयदेखि चार सयसम्म क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । त्यस्तै, डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुपर्छ ।
फोलिक एसिडबाहेक गर्भावस्थामा कुनै औषधि सेवन गर्नुहुँदैन । सेवन गरेमा बच्चाको स्वास्थ्यमा असर पर्न सक्छ ।
रोगीको सम्पर्कबाट टाढा

गर्भावस्थामा प्रतिरोधी क्षमता एकदमै कम हुन्छ । रोगको संक्रमण छिटो हुने सम्भावना रहन्छ । त्यसैले, गर्भवती महिलाले बढी भिडभाड भएको ठाँउ वा रोगीको सम्पर्कमा जानुहुँदैन ।
पर्याप्त आराम

गर्भावस्थामा शरीरका सबै अंग कमजोर र खुकुलो भएका हुन्छन् । त्यस्तै, सुत्केरी भइसकेपछि अंग झनै कमजोर हुन्छन् । तसर्थ, सुत्केरी भइसकेको करिब डेढ महिनासम्म आराम गर्नुपर्छ । त्यस्तै, सुरुको तीन महिना तथा अन्तिमको समयमा बच्चा खेर जाने सम्भावना उच्च रहन्छ । त्यसैले, बढी शारीरिक परिश्रम हुने काम गर्नुहुँदैन । प्रशस्त आराम गर्नुपर्छ । यद्यपि, सामान्य एक्सरसाइज भने गर्न सकिन्छ ।
१४ देखि २७ हप्तासम्मको अवधिलाई सुरक्षित मानिन्छ । यो समयमा गर्भवतीले यात्रामा जान वा सानोतिनो काम गर्न सक्छन् ।
सुत्केरी समयको पूर्वतयारी

करिब पाँचदेखि सात प्रतिशत महिलामा मात्र सुत्केरी निश्चित समयमा हुन्छ । त्यसैले, सुत्केरी हुने समयमा स्वास्थ्य सेवाप्रदायक संस्था तथा आवश्यक सामग्रीको पूर्वतयारी गर्नुपर्छ ।
लामो व्यथा लाग्ने, रगत बग्ने, बच्चा उल्टो वा तेस्रो बस्ने तथा साल तल बस्ने खालका जटिल समस्या आउन सक्ने भएकाले तुरुन्त स्वास्थ्य संस्था लैजानुपर्ने हुन्छ । घरमै सुत्केरी हुने अवस्था आएमा स्वास्थ्यमा विभिन्न जोखिम हुने भएकाले समयमै आवश्यक पूर्वतयारी गर्न आवश्यक छ ।