वर्षौंपछि गाउँमा खानेपानी

जाजरकोट ः बारेकोट गाउँपालिका ९, काप्तीकी ५५ वर्षीया कली बुढा खुसी छिन् । विगतमा २र३ घण्टा लगाएर खानेपानी जोहो गर्ने उनको घरछेउको धारामा अहिले चौबीसै घण्टा पानी आउँछ ।

वैशाखमा काप्ती गाउँमा खानेपानी सुविधा पुगेपछि उनी मात्र होइन्, ३ दर्जन घरधुरीले सन्तोषको सास फेर्न पाएका छन् । यसअघि काप्तीका स्थानीय कुवा, खोला खोल्सा लगायतको दूषित पानी पिउन बाध्य थिए । वर्षौंदेखि स्वच्छ खानेपानी समस्या भोग्दै आएको बुढाले बताइन् । घरमै खानेपानी पुगेपछि थाप्लोमा गाग्रो बोकेर हिँड्ने सास्ती टरेको उनी बताउँछिन् । ‘पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पी प्रयोग गर्न र अन्य सरसफाइ गर्न निकै समस्या भोगेका थियौं,’ उनले भनिन्, ‘अहिले घरनजिकै स्वच्छ पानी आउन थालेपछि धेरै सुबिस्ता पाएका छौं ।’

टाढाको खोल्साबाट पानी ल्याउन खर्च हुने समय बचत भएपछि अन्य काममा सजिलो भएको स्थानीयको भनाइ छ । काप्तीका ३५ घरपरिवारले जजिकै शुद्ध खानेपानीको सुविधा पाएको वडाध्यक्ष शशीराम गौतमले वताए । गाउँमा पानीको सुविधा पुगेपछि महिला र बालबालिकाको समय बचत भएको उनको भनाइ छ ।

‘कम लागतकै खानेपानी योजनाले पनि स्थानीय बासिन्दालाई खुसी दिएको छ,’ उनले भने, ‘पानी ल्याउन खर्च गर्ने समय स्थानीयले अन्य काममा सदुपयोग गरेका छन्, बालबालिकाको पढाइ नियमित हुने गरेको छ ।’ यसअघि पानी ल्याउन टाढा जानुपर्ने बाध्यताका कारण बालबालिकाले घरमा पढाइलाई निरन्तरता दिन सकेका थिएनन् ।

बारेकोट गाउँपालिकाले गाउँमा ३ किमि टाढा रहेको कालछरा मुहानबाट पानी ल्याएर योजना निर्माण गरेको हो । गाउँपालिकाले चालु आवको ५ लाख रुपैयाँ लगानीमा खानेपानी योजना सम्पन्न गरिएको जनाएको छ । उक्त योजनामा स्थानीयलाई पायक पर्ने करिब आधा दर्जन स्थानमा धारा निर्माण भएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा शुद्ध खानेपानीको अभावमा पटकपटक झाडापखाला, आउलगायत रोगको प्रकोप फैलिने गरेको छ । नयाँ योजना नबन्दा र पुरा योजनाको मर्मत सम्भार नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । मर्मत नहुँदा जाजरकोटमा खानेपानीका ४ सय योजना अलपत्र परेको जिल्ला समन्वय समितिले जनाएको छ । समितिका अनुसार करिब ७ हजार घरधुरी शुद्ध खानेपानी सुविधाबाट वञ्चित छन्  कान्तिपुरमा खवर छ।





error: Content is protected !!