संघीय सरकारसंग जाजरकोटका स्थानीय तहले यस्ता माग राखे

जाजरकोट ( डिडिटल सञ्चार) आमुल परिवर्तनको सपना बोकेका झण्डै १६ हजार नेपालीको बलीदानबाट मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रमा गएको समय ४ बर्ष पुरा हुन थालेको छ । स्थानीय तहको निर्वाचन पश्चात संघीय लोकतान्त्रीक गणतन्त्रको ब्यवहारिक अभ्यास गर्न थालेको समयपनि दुई बर्ष पुरा भएको छ ।

अनुदानमा निर्भर हुदै आएका जाजरकोट जिल्लाका सात वटै स्थानीय तहले संघ र प्रदेश सरकारबाट विकास बजेट मात्र नभएर विकास योजनाको माग राखेका छन् । जाजरकोट जिल्ला समन्वय समितिले केहि दिन अगाडी आयोजना गरेको जिल्ला सभाको पाँचौ बैठकबाट जिल्लाका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले सडक, सुरुङ्गमार्ग, विद्युत, खानेपानी, सिंचाई, भवन, पुल, प्राविधिक शिक्षालय, उद्योग, बहुमल्य धातु तथा फलाम खानी, अस्पताल, नुन र खाद्य डिपो, हाईटेक नर्सरी, टिम्मुर जोन, एयरर्पोट जस्ता विकास योजनाहरु संघीय सरकारसंग माग राखेका छन् ।

ठुला तथा मझौला खालका नभएर प्रत्येक्ष नागरिक जीवनशैलीसंग सरोकार राख्ने साना विकास योजना पनि संघीय सरकारसंग माग राख्नुपर्ने बाध्यता रहेको जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मनबहादुर रावलले जानकारी दिए । एकात्मक राज्य व्यवस्थाले सन्तुलित विकास गर्न नसक्दा जिल्लाका स्थानीय तहहरुले संघीय सरकारसंग प्रत्येक्ष नागरिक सरोकार राख्ने साना विकास योजनाहरुको माग राख्नु पर्ने अबस्था आएको प्रमुख रावलको बुझाई रहेको छ ।

जाजरकोट जिल्ला लगाएत कर्णाली प्रदेशका जिल्लाहरुलाई आत्मनिर्भर गराउने खालका विकास योजनाहरु पुरानो व्यवस्थाले निर्माण गर्न नसकेको प्रमुख रावलले दावी गरे । जल, जमिन र जडिवुटि जस्ता अथाहा सम्पदाको धनी भएतापनि बिकासले पछाडी पारिएको हुदा जिल्लाका सबै स्थानीय तहहरु अनुदानका भरमा चल्नुपर्ने, साना विकास योजना पनि संघीय सरकारसंग माग्नुपर्ने अबस्था रहेको प्रमुख रावलले निस्कर्ष निकालेका छन् ।

जिल्ला समन्वय समिति, जाजरकोट मार्फत संघीय सरकारसंग जिल्लाका सबै नगर तथा गाउँपालिकाले विभिन्न विकास योजनाहरुको माग राखेका छन् । जिल्लाका सबै नगर तथा गाउँपालिकाले संघीय सरकारसंग राखेका विकास योजनाका मागहरुलाई जाजरकोट जिल्लाबाट प्रतिनीधि सभामा प्रतिनिधित्व गरेका नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संघीय सरकारबाट पुरा गर्ने बताएका छन् ।

छेडागाड नगरपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
छेडा, थलह, बाटुले सडक कालोपत्रे, चंखिला, सुवानाउली सडक ग्राभेल, थलह, पजारु, टिकाचौर, जलजला सडक निर्माण, लिर्ता, मचाईना, पाँचकाटिया सडक ग्राभेल गर्ने सडक तर्फका योजनाहरु माग गरिएको छ । साल्मा खोला, वडा नं। ५ र १२ लाई जोड्ने मनघाट, वडा नं। ५ र ९ थलह पजारु जोड्ने मोटरेवल पुलको माग गरिएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक भवन, जनकल्याण मावि र बाग्यश्वरी माविको भवन, वडा नं। १, ७, ८, ९, १०, ११, १२ र १३ का वडा कार्यालय भवनको माग गरिएको छ । मनाघाट सिर्पाचौर, राजिकोट र खारामा लिफ्ट सिंचाईको माग गरिएको छ । अम्रैचौर अमरसेना, मनघाट, थलह, ढुङ्गिल र जेवातरामा तटबन्धन निर्माणका योजना माग गरिएको छ । डेरकुला, घोगी, कम्पन नाउला, भम्प र अमरसेना पहिरो नियन्त्रण योजनाहरु माग गरिएको छ । त्यसैगरि बुर्दाना र खारामा खानेपानी आयोजनाको माग गरिएको छ । कृषि तथा उद्योग तर्फ गारमेन्ट उद्योग, कृषि उपजका संकलन केन्द्रको माग गरिएको छ । घोगीमा रहेको देवलको पर्यटन प्रवद्र्धन गर्नुपर्ने माग राखिएको छ ।

नलगाड नगरपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
घट्टेखोला मुहान भई ध्यारगाउँ, रावतगाउँ, रजिक, काठीहाल्न, रोली खानेपानी आयोजनाको माग गरिएको छ । रावतगाउँ, ध्यारगाउँ, बानियागाउँ हुदै डोल्पाको सर्मी जोड्ने सडक निर्माणको योजना माग गरिएको छ । स्यालसिंह देखि ठुलो भेरी नदीको पुल हुँदै भिरकुनासम्म र कालीमाटी, रानीखेत, ढाँरखेत, सिमेथान, कुसा, भैरीखोर, रिठा, तिम्लेचौर, गराग्लीसम्म तटबन्धन निर्माणको योजना माग गरिएको छ । पातिहाल्ना, चौखेढुङ्गा र रानखानीमा तामा खानीको सम्भाव्यता अध्ययनको माग गरिएको छ । बाईकाँडामा फलाम खानीको सम्भाव्यता अध्ययनको माग गरिएको छ । खानटाकुरामा शहिद स्मृतिपार्क र मन्मैमा खेलकुद रंगशाला निर्माणको माग गरिएको छ । नगर क्षेत्रभरि ल्यानलाईन फोन विस्तारको माग गरिएको छ । दल्लीमा आबासिय विद्यालय निर्माणको माग गरिएको छ । कट्के, रजिक र भारगाउँमा स्वास्थ्य चौकीको माग गरिएको छ । नयरकोटमा बहुँउदेश्य पानी पोखरी निर्माण र वडा नं। ४ मा शान्ति मन्त्रालयबाट निर्माणधिन अबस्थामा छोडीएको भवन निर्माणको माग गरिएको छ ।

भेरी नगरपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
भेरी नगरपालिकाको कार्यालय भवन निर्माण, खलंगा तल्लो थाप्लेमा बसपार्क निर्माणको योजना माग गरिएको छ । पिपे, मैदे, घुयालनेटा, उदे, टोकेगाँरा, ज्यामिरे हुदै डिङ्गागाउँ जोड्ने सडक निर्माणको माग गरिएको छ । खलंगा–बाहुनथाना खानेपानी योजना निर्माणको माग गरिएको छ । वडा नं। ५ मा रहेको डाप्कामा कर्भड हल निर्माणको माग गरिएको छ भने, कारागार, रानागाउँ हुदै नेटीबजारसम्म सडक निर्माणको माग गरिएको छ ।

कुशे गाउँपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
कुशे गाउँपालिका–२ देखि विलकोट हुदै लोतेभेरा जुम्ला जोड्ने सडक निर्माण, चाल्ने डापुमा सुरुङ्गमार्गको माग गरिएको छ । साँधीविसाउनमा मोटरेवल पक्की पुल, वडा नं। १, २, ३, ६ हुदै ८ नम्बर वडालाई जोड्ने रिङरोडको माग गरिएको छ । कृषि उद्योग प्रवद्र्धनमा चिप्स र जुस उद्योगको माग गरिएको छ भने, कृषि सिंचाईहरुको माग गरिएको छ । त्यसैगरि कफल्नखोलामा झोलुङ्गे पुलको माग गरिएको छ भने, पाँचकाटिया–व्याउलीढुङ्गा–जुम्ला जोड्ने सडक निर्माणको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
नरमरा, लामातरा, सानाखोलामा मोटरेवल पक्की पुलको माग गरिएको छ । छेडा, चंखिला, सानाखोला, चाँदे, जुम्ला जोड्ने सडक, नरमरा, लुहाँदह उच्चमावि, कोर्ताङ्ग, जुनी जुम्ला सड्क, लामातरा, बुद्धीडाँडा, जुम्ला जोड्ने सडक, पातीहाल्ना, पञ्चाला, पुंक, जुर्क जुम्ला जोड्ने सडकको माग गरिएको छ । तरा, भारतरा आलुमकुरी, चाल्नेखोला कल्लि साँकिया, चोत्राकोट सिलतारामा सिंचाई आयोजनाको माग गरिएको छ । आदर्श मावि लुहाँदह, शिवपुरी मावि गर्खाकोट, जनता आधारभुत नमुना विद्यालय, मालिका महिला सहकारी संस्थाको सामुदायिक भवन, वडा नं। ५ को वडा कार्यालय, ईलाका प्रहरी कार्यालय भवन, भैरीचाल्ने बहुँउदेश्य सहकारी संस्था, नवजागरण बहुँउदेश्य सहकारी संस्था, वडा नं। ४ को वडा कार्यालय, वडा नं। ४ कै स्वास्थ्य चौकी भवन, वडा नं। ७ मा शहिद स्मारक भवन निर्माणको माग गरिएको छ । काप्राखोला र तैया खोलामा झोलुङ्गे पुलको माग गरिएको छ भने, सुलुखोला, सिउरेनी पाखा, धुलेखोला, घट्टेखोला, चल्लेखोला, जुर्कखोला, दहखोलामा ट्रसवृजको माग गरिएको छ । किम्मेला कालेखोला लुहालह र खोपिल्टा खानेपानी योजनाको माग गरिएको छ । वडा नं। ४ र १० मा बृहत वृक्षारोपन विरुवा उत्पादन नर्सरी निर्माण, वडा नं। १ देखि वडा नं। ११ सम्ममा टिम्मुर जोन निर्माणको माग गरिएको छ । त्यसैगरि नं। १ देखि वडा नं। ११ सम्ममा पोषण सम्वेदनशिल नविन अभ्यास प्रवद्र्धन र वडा नं। ४ र ७ मा बहुँमुल्य रत्न पत्थर प्रशोधन केन्द्र निर्माणको माग गरिएको छ । त्यसैगरि वडा नं। ७ मा नमुना बस्ति निर्माण, कागचोचामा धर्मशाला निर्माण र पाथीभरामा टेलीफोन टावर निर्माणको योजना माग गरिएको छ ।

बारेकोट गाउँपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
गाउँपालिकाका नौ वटै वडामा केन्द्रिय विद्युत लाईन प्रसारण, गाउँपालिकामा पोलीटेक्निकल शिक्षालयको माग गरिएको छ । गाउँपालिकाको भवन निर्माण, लिम्सामा १५ सैयाको अस्पतालको माग गरिएको छ । लुम्बिनी–रारा रणनैतिक सडकलाई बारेकोटको मुल्साममा जोडी मुल्साम देखि जुम्लाको टोप्ला जोड्ने सुरुङ्गमार्ग निर्माणको योजना माग गरिएको छ । आगरछेरा खोला, घाट, कदेराचौर र वडा नं। ३ र ५ लाई जोड्ने मोटरेवल पुलको माग गरिएको छ । काउलीमा खाद्य डिपो र लिम्सामा नुनको डिपोको माग गरिएको छ । जुम्ली पोख्रीमा हवाईजहाज एयरर्पोटको माग गरिएको छ । वडा नं। १ देखि वडा नं। ९ सम्ममा टिम्मुर जोनको माग गरिएको छ । साईकुवारी पदमार्ग निर्माण र बारेकोटलाई हरित उद्यन क्षेत्रमा विकास गर्न माग गरिएको छ ।

शिवालय गाउँपालिकाले संघीय सरकारसंग माग गरेका विकास योजनाहरु
छेडा–कचाली, शिवालय रिङरोड र थाला–कचाली सडक निर्माणको माग गरिएको छ । गाउँपालिकाको भवन, १५ सैया अस्पताल भवन, सहकारी भवन, दिर्घ महिला सहकारी भवन, खेलकुद कर्भडहल, प्राविधिक शिक्षालय भवन र बृद्धाश्रम भवन निर्माणको योजना माग गरिएको छ । छेडाचौर देखि गाउँपालिकाको प्रशासनिक केन्द्र र गाउँपालिकाका ९ वटै वडाहरुमा केन्द्रिय विद्युत लाईन प्रसारणको माग गरिएको छ । कल्याण, मैलतडा, नेपाखोलामा मोटरेवल पुलको माग गरिएको छ । हाईटेक कृषि नर्सरीको माग गरिएको छ । गाउँपालिका स्तरीय खेलमैदान निर्माण र जाँत र घिमसिमेमा एनटिसी टावर निर्माणको माग गरिएको छ ।

नेपाल सरकारको आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि बन्ने नीति तथा कार्यक्रममा उक्त विकास योजनाहरु समावेश गराउने उदेश्यले जिल्ला समन्वय समिति मार्फत संघीय सरकारसंग विकास योजनाहरुको माग राखेका जाजरकोटका सबै स्थानीय तहहरुले कर्णाली प्रदेश सरकारसंग माग गर्ने योजनाहरु छनौट गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख रावलले जानकारी दिए ।





error: Content is protected !!