डोल्पाका विभिन्न ठाउंमा होमस्टे संचालन हुने

सुकमाया थापा
डोल्पा(दुनै), ५ जेठ – हालसम्म होमस्टे सञ्चालन हुन नसकेको प्रचुर पर्यटकिय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउंमा होमस्टे संचालन हुने भएको छ ।
नेपालकै सबैभन्दा बढि पर्यटकिय स्थलहरुको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउंपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोट बगरमा होमस्टे संचालनका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको योजना बमोजिम डिभिजन वन कार्यालय डोल्पाले कार्य सुरु गरेको छ ।
प्रचुर पर्यटकिय स्थलको खानी भए पनि हालसम्म एउटा पनि होमस्टे संचालन हुन नसकेको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ कोट बगरमा र त्रिपुराकोट १ मा अनि छार्का ताङ्सोङ गाउंपालिकाको कागकोटमा यो वर्षबाट हामस्टे संचालन गर्न नेपाल सरकार र कर्णाली प्रदेश सरकारले पहल गरेको डिभिजन वन कार्यालय डोल्पाका कामु डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।
यी ठाउं त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी न.पा.१ डोल्पा, छार्का ताङसोङ गाउंपालिकाको कागकोट होमस्टे र त्रिपुरासुन्दरी बगर होमस्टे त्रिपुरासुन्दरी न.पा. १ बगरमा यो वर्षबाट पर्यटकहरुबाट समुदायमा समान रुपले आय आर्जन तथा आम्दानी होस् र स्थानीयहरुको जीवनस्तर उठ्न सकोस भन्ने हेतुले होमस्टे संचालन हुन लागेको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ ।
त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी न.पा. १ डोल्पाका लागि ३० लाख, कागकोट होमस्टे विकासका लागि ३५ लाख र त्रिपुरासुन्दरी न.पा.१ बगर होमस्टेका लागि २५ लाख बजेट नेपाल सरकार एवम् कर्णाली प्रदेश सरकारले विनियोजन गरेको छ । यो बजेटबाट यी स्थानहरुमा होमस्टेका भौतिक तथा अन्य आवश्यक तयारीका काम हुने बताइएको छ ।
यी ठाउंहरुमा संचालन हुने होमस्टे निर्माणका लागि डिभिजन वन कार्यालय डोल्पाले आइतवार प्रस्ताव मागेको छ । त्रिपुराकोट बगर, त्रिपुराकोट १ र कागकोटका स्थानीयहरुले प्रस्ताव पेश गर्न सक्ने भनिएको छ । प्रस्ताव पेश गर्दा व्यक्ति भन्दा समूह तथा समितिलाई प्राथमिकता दिइने बताइएको छ ।
केही वर्ष अघि नेपालकै गहिरो फोक्सुण्डो ताल छेउमा रहेको रिग्म गाउंमा होमस्टे संचालन गर्ने भनेर तारा गाउंपालिकाले चर्चा चलाएको थियो । केही समय प्रयास पनि गरेको हो तर पछि आएर कुनै केही गरेन र हालसम्म पनि उक्त गाउंमा होमस्टे संचालन हुन नसकेको शे फोक्सुण्डो गाउंपालिका वडा नं. ८ रिग्मका वडा अध्यक्ष निमा गुरुङले बताए ।
डोल्पा जति नै धेरै पर्यटकिय संभावना बोकेको जिल्ला तथा स्थान भए पनि समुदाय सबैलाई फाइदा हुने बताउने गरिएको पर्यटकीय व्यवसाय होमस्टे संचालनमा आउन सकेको छैन । यो वर्षमा भने सरकारी स्तरबाट बजेट परेकाले होमस्टे पूर्वाधारका काम हुने आशा पलाएको जनाइएको छ ।





error: Content is protected !!