अहिले हामी धेरै सुविधाभोगी भयौं । हामी अरुमा आश्रति भयौ । यस्तो लाग्न थाल्यो कि, हाम्रो शरीर चल्न छाड्यो । हाम्रो मस्तिष्कले काम गर्न छाड्यो । नभए किन हामी यति धेरै अरुमा निर्भर हुँदैछौ ?

यो प्रसंग म हाम्रो भान्सासँग जोड्न चाहन्छु ।
भान्साको सोझो सम्बन्ध हाम्रो मुख र पेटसँग छ । जब भान्सामा बनेको खानेकुरा खान्छौं, तब हामी जीवित रहन्छौं । बाँच्छौ । साथसाथै भान्समा जस्तो खानेकुरा पाक्छ, त्यसमा हाम्रो समग्र शारीरिक स्वास्थ्य निर्भर रहन्छ । हामी जस्तो खान्छौ, त्यस्तै हुन्छौं । त्यसैले भान्सा भनेको हाम्रो जीवनकै एक अंग हो ।

तर, हामी अहिले अरुले जुटाएर, अरुले पकाएर, अरुले पस्किएको खानेकुरा मात्र खान सक्ने भएका छौ । हामी आफै पकाउन सक्ने अवस्थामा छैनौ । यो अवस्था शारीरिक अशक्तताको कारण होइन कि, हाम्रो लाचारी, कमजोरी र अल्छीपनले गार्दा हो ।

आफ्नै हातले पकाएको खानेकुरा

हामीलाई आफ्नो भान्सामा पस्न जाँगर चल्दैन । दाल, भात, तरकारी पकाउन जाँगर चल्दैन । अरुले पकाएर ठिक्क पारिदिएपछि खान्छौं । यसैले गर्दा खानेकुरासँग हाम्रो आत्मियता पनि जोडिदैन । जतिसुकै मीठो भएपनि हामी त्यसमा केही न केही गुनासो गछौर्ं । यदि आफैले जुटाएर, आफ्नै हातले पकाउने हो भने हामी आफ्नै स्वादको खानेकुरा तयार गर्न सक्छौं । यसले गर्दा खानेकुरा खाइरहँदा कुनै गुनासो रहनेछैन ।

आफ्नो जिब्रोले कस्तो स्वाद मन पराउँछ, आफ्नो पेटले कस्तो खानेकुरा पचाउँछ भन्ने कुरा अरुलाई भन्दा हामी स्वयम्लाई थाहा हुन्छ । जब हामी आफ्नै हातले खानेकुरा तयार गर्छौं, हामीलाई स्वादिलो लाग्छ । सुपाच्य हुन्छ ।

आफैले पस्किएको खानेकुरा

यसको अर्थ के हो भने, भान्साको काममा हामी आफैले जाँगर चलाउनुपर्छ । त्यती मात्र होइन, खाना पस्कने पनि आफैले गर्नुपर्छ । कुन खानेकुरा कति खाने भनेर आफैले अनुमान गर्ने हो । यसरी अनुमान गरे अनुरुप नै खानेकुरा प्लेटमा पस्कनुपर्छ । यसको फाइदा के हुन्छ भने, अनावश्यक खानेकुरा हाम्रो प्लेटमा थपिदैन । जति प्लेटमा पस्किएका छौ, सबै खाइसक्छौ । अर्थात जति खान सकिन्छ, त्यती मात्र पस्कन्छौ । यसले गर्दा जुठो खाना खेरो जाँदैन ।

हामी नेपालीहरुले धेरैजसो खानेकुरा त जुठो बनाएर छाड्ने गर्छौं । रेष्टुरेन्ट, भोजभत्तेरमा हेर्ने हो भने, जुठो खानेकुराको पहाड बनेको हुन्छ । यसरी खानेकुरा नष्ट गर्नु पक्कै राम्रो कुरा होइन । एउटा किसानले बर्षदिन लगाएर उत्पादन गरेको खानेकुरा जुठो बनाएर नष्ट गर्दा त्यसले खाद्य भण्डार रित्याउने मात्र होइन, पर्यावरणमा समेत नकारात्मक असर गर्छ । तर, हामी नेपालीहरु यस्तो कुरामा खास चासो र सरोकार राख्दैनौ ।

आफैले माझेको जुठो भाँडावर्तन

आफुले जुठो बनाएको भाँडावर्तन संभव भएसम्म आफैले उठाउने, धोइ पखाल्ने गरौं । रेष्टुरेन्ट वा भोज भत्तेरमा त यस्तो संभव नहोला । तर, आफ्नो घरमा वा पाहुना गएको बेला अरु कसैको घरमा पनि आफ्नो जुठो भाँडावर्तन आफैले सफा गर्ने बानी राम्रो हो ।

किनभने हामी एक-एक जनाले बनाएको जुठो भाँडावर्तनको थुप्रो लाग्छ । यसरी थुप्रो लाग्ने जुठो भाँडावर्तन सफा गर्नका लागि अरु कुनै व्यक्तिले पुरा आफ्नो समय र श्रम खर्च गर्नुपर्छ । जबकी आफु आफैले आफ्नो जुठो भाँडावर्तन उठाउने र माझ्ने हो भने यो कुनै समस्या हुँदैन । आफ्नो कारणले अरु कसैले दुःख पाउँदैन ।

आफैले गरेको उत्पादन

हामी बजारमा निर्भर छौ । आफुलाई चाहिएको कुरा सबै बजारमा पाइन्छ भनेर हामी ढुक्क छौ । अर्थात बजार हाम्रो खाद्य भण्डार हो ।

तर, बजारबाट ल्याइएका खानेकुरा कति खान योग्य हुन्छ ? कति पोषिलो हुन्छ ? यसतर्फ हामी सोच्दैनौ । खल्तीमा पैसा भएपछि बजारमा जे पनि पाइन्छ भन्ने मात्र लाग्छ । तर, हामीले आफ्नो पेट भर्ने खानेकुरा आफै उत्पादन गर्न न जाँगर चल्छ, न रहर जाग्छ ।

हुन त आफुले खानेकुरा आफैले उत्पादन गर्ने सोंच कतिलाई भरपर्दो नलाग्न सक्छ । यसमा अविश्वास पनि लाग्न सक्छ । अहिले हामीसँग खेतीबाली छैन । खेतीबाली गर्ने जग्गा जमिन छैन । खेतीबाली गर्नका लागि समय पनि छैन । किनभने हामी अरु नै काममा व्यस्त छौ ।

हो, हामीले खाने सम्पूर्ण कुरा हामी आफैले उत्पादन गर्न संभव नहोला । तर, प्याज, लसुन, धनिया, गोलभेडा, खुर्सानी, साग, आलु, भिन्डी जस्ता खानेकुरा उत्पादन गर्न धेरै जग्गा चाहिँदैन । घरको करेसाबारी, बार्दली, छत पर्याप्त हुन्छ ।

आफुले उत्पादन गरेको खानेकुरा शुद्ध र विषादीरहित हुन्छ । ताजा हुन्छ । त्यसमाथि आफ्नो हातले उत्पादन गरेको खानेकुरा खानुको स्वाद पनि बेग्लै हुन्छ ।

कुराकानीमा आधारित 




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!